कैलालीको मोहना र खुटिया नदी किनारमा नदी कटान रोक्न बाँस र घाँस

धनगढी, भदौ २७।

कैलालीको मोहना र खुटिया नदी किनारमा बाँस र घाँस रोप्ने अभियान सुरु गरिएको छ । यी नदीले कटान गर्दै आएको धनगढी उपमहानगरपालिकास्थित विभिन्न वडामा चाँप जातको बाँस, अम्रिसो र डाले घाँस रोप्ने अभियानको थालनी गरिएको हो । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७, १२, १५ र १७ गरी चार वडाको करिब ३० किलोमिटर क्षेत्रमा बाँस, अम्रिसो र घाँस रोप्ने लक्ष्य लिइएको छ ।

मोहना र खुटिया नदीले कटान गर्दै आएका कारण जैविक तटबन्ध निर्माण र स्थानीयको आयआर्जनका लागि बाँस र घाँस रोप्ने कार्यको थालनी गरिएको नगरप्रमुख गोपाल हमालले बताउनुभयो । उहाँका अनुसार नदी किनारमा बाँस उपमहानगरपालिकाको कार्यालयले रोप्ने छ । बाँस ठुलो भएपछि त्यसबाट सम्बन्धित क्षेत्रका नगरवासीले लाभ उठाउने जनाइएको छ ।

नदीले गर्दै आएको कटान रोकथाम र स्थानीयस्तरमा रोजगारीको बढाउने उद्देश्यले बाँस र घाँस रोप्ने कार्य सुरु गरिएको हो । चाँप प्रजातिको बाँसबाट उच्च गुणस्तरको कागज बन्ने गर्दछ । यसै गरी विभिन्न किसिमको हस्तकलाको सामग्री बनाउनका लागि बाँसको प्रयोग हुने गर्दछ । अम्रिसोबाट कुचो बनाउने गरिएको छ । बाँसबाट बन्ने विभिन्न सामग्री उत्पादनका लागि स्थानीवासीलाई धनगढी उपमहानगरपालिकाको कार्यालयले तालिम प्रदान गर्ने बताइएको छ ।

बाँस र घाँस राम्ररी हुर्काउन सकिएमा खोला किनारबाटै राम्रो आम्दानी गर्न सकिने विश्वास गरिएको छ । बाँस रोप्ने अभियानलाई बढाउँदै लैजाने हमालले उल्लेख गर्नुभयो । धनगढी उपमहानगरपालिकाले बाँस छ हजार, अम्रिसो छ हजार छ सय र डाले घाँस पनि छ हजार छ सय बोट रोप्ने योजना रहेको छ । दुवै नदीको करिब ३० किलोमिटर क्षेत्रमा बोटबिरुवा र घाँस रोप्ने जनाइएको छ ।

खुटिया र मोहना नदीले विभिन्न क्षेत्रमा कटान गर्दै आएको छ । कटान हुने गरेको ती क्षेत्रमा बाँस र घाँस रोपिए कटान नियन्त्रणमा सहयोग पुग्ने जनाइएको छ । बाँस, काँस, घाँस, अम्रिसोले नदी किनारमा जैविक तटबन्धका रूपमा काम गर्ने गर्दछ ।

Leave a ReplyCancel reply

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version