प्रदेश ७ मा पौने ४ अर्ब विकास बजेट फ्रिज गयो

जनक विष्ट, धनगढी साउन २ गते ।

ठुला विकास निर्माणका योजनामा उल्लेख्य प्रगती हुन नसक्दा प्रदेश ७ मा पौने ४ अर्ब बराबरको विकास बजेट फ्रिज गएको छ।

आर्थिक वर्ष २०७४÷७५ मा प्रदेश ७ को कुल विकास बजेटको ८२ प्रतिशत मात्र खर्च भएको छ भने १८ प्रतिशत बजेट फ्रिज गएको हो।

सबैभन्दा बढि विकास बजेट रहेको कैलाली र कञ्चनपुरमा मात्रै डेढ अर्ब बढि बजेट फ्रिज गएको छ।
आर्थिक वर्ष २०७४÷७५ का लागि प्रदेश नम्बर ७ को कुल पुँजीगत बजेट २० अर्ब ४४ करोड ७४ लाख रहेकोमा १६ अर्ब ७० करोड ४० लाख मात्र खर्च भएको हो। कुल विकास बजेट मध्ये ३ अर्ब ७४ करोड ३४ लाख अथात् १८ प्रतिशत बजेट भने फ्रिज गएको छ।

प्रदेशमै सबैभन्दा बढि विकास बजेट रहेका कैलाली र कञ्चनपुरले मात्र फ्रिज बजेटको झन्डै आधा हिस्सा ओगटेको छ।
६ अर्ब १४ करोड कुल बजेट रहेको कैलालीमा ५ अर्ब २६ करोड खर्च हुदा ८८ करोड ८३ लाख र ४ अर्ब ९५ करोड कुल बजेट रहेको कञ्चनपुरमा ४ अर्ब २६ करोड खर्च हुदा ६८ करोड ५८ लाख बजेट गरी १ अर्ब ५६ करोड फ्रिज गएको हो।

कैलालीमा सबैभन्दा बढि मोहनापुल अत्तरिया सडक योजनाको २३ करोड र क्षेत्रिय शहरी विकास आयोजनाको २१ करोड बजेट फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
ठुला विकास निर्माणका योजनामा उल्लेख्य प्रगती हुन नसक्दा आशा गरे अनुुसार पुँजीगत बजेट खर्च हुन नसकेको बताइएको छ।

तराईका जिल्लामा अबौँ रकम फ्रिज जादा पहाडी जिल्लामा पनि पुँजीगत बजेट खर्चको अवस्था उत्साजनक छैन्। ७ पहाडी जिल्ला मध्ये सबैभन्दा बढि २ अर्ब २३ करोड १५ लाख विकास बजेट रहेको बैतडीमा ८३ प्रतिशत अथात् १ अर्ब ८५ करोड ५३ लाख खर्च हुदा ३७ करोड ६३ लाख बजेट फ्रिज गएको छ।
२ अर्ब २ करोड ४४ लाख बजेट रहेको डोटीमा १ अर्ब ६४ करोड ४७ लाख ८१ प्रतिशत, १ अर्ब ३७ करोड १२ लाख बजेट रहेको अछाममा ९२ करोड ८७ लाख ६७ प्रतिशत बजेट मात्र खर्च भएको छ। यस्तै दार्चुलामा १ अर्ब २३ करोड २४ लाख बजेट रहेकोमा १ अर्ब १४ करोड ५० लाख ९२ प्रतिशत, ६४ करोड ६८ लाख बजेट रहेको डडेल्धुरामा ५५ करोड ९३ लाख ८६ प्रतिशत बजेट खर्च भएको छ भने ८३ करोड वार्षिक बजेट रहेको बझाङमा ५९ करोड ८२ प्रतिशत र ६० करोड बजेट रहेको बाजुरामा ४४ करोड मात्र खर्च भएको छ।
७ पहाडी जिल्लाबाट मात्र २ अर्ब १८ करोड बजेट फ्रिज गएको हो।

पहाडी जिल्लामा पनि  पुँजीगत खर्चको प्रगतीका बाधक भौतिक पुर्वाधारका योजना नै देखिएको दाबि गरिएको छ।

तराईका दुई जिल्लामा ठुला विकास निर्माणका योजनाहरुको प्रगती निराशाजनक भएका कारण विकास बजेट फ्रिज गएको हो भने पहाडी जिल्लामा पनि विकासका योजनाको प्रगती आशातित रुपमा अगाडी बढ्न नसक्दा रकम फ्रिज गएको विकासे अड्डाहरुले नै बताएका छन्।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version