बाजुरा — कञ्चनपुरको मौरीफाटामा स्कुले किशोरी बलात्कृत भएकै दिन बिहीबार बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया किशोरीलाई स्थानीय दुई युवाले बलात्कार गरेका छन्
‘मेरो दाजुको नाम बताउँदै तिमी उसैको बहिनी होइनौ ? हामी तिमीलाई चिन्छौं । बाइकमा पुर्याइदिन्छौं भनेर जिद्दी गरे,’ पीडित किशोरीले भनिन्, ‘छिटो पुगिने आशाले बाइकमा बसें । बेतालमाण्डौ बजार देखिने बित्तिकै झार्दिनुस् भनें, तर बाइक हुइँक्याएर बार्जुगाढ पुर्याए ।’ अर्कै बाटोतिर लागेपछि आफू डराएर रुन थालेको ती किशोरीले बताइन् । ती युवाहरूले आफूलाई बार्जुगाड खोलाको पारि जंगल छेउमा बाइक रोकेर चन्द्र विष्टले घिसारेर जंगलमा पुर्याएको बताउँदै उनले भनिन्, ‘सुनीलले दुवै हात समाते, चन्द्र विष्टले मुख छोपी जबरजस्ती करणी गरे । जंगल भएकाले मैले रोए कराएको सुन्ने मान्छे कोही भएन ।’ उनीहरूले कसैलाई भने चक्कु हानेर मार्दिन्छौं भनी धम्काएको बताइन् । बलात्कारपछि देवस्थलीमा रहेको एक होटलको कोठामा लिएर सुनील विकले कालो देखिने (चरेस, भाँगो) चुरोटमा भरेर तान्न दबाब दिए पनि आफूले खान नमानेपछि चुरोटको ठुटोले सुरुवाल पोलेको उनले बताइन् । ‘कराउन खोज्दा नजिकै रहेको ग्यास सिलिन्डर उडाएर मारिदिन्छु, यहाँ सबै हाम्रै मान्छेहुन् कोही तेरो सुन्नेवाला छैन भनेर धम्क्याए,’ उनले भनिन् । किशोरीको जिल्ला अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण गरिएको छ ।