बैतडीमा मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार

बैतडी,२ चैत-

बैतडीको विभिन्न ठाँउमा खानेपानीका मुहान तथा प्राकृतिक कुवा सुक्दै जान थालेपछी खानेपानीको हाकाकार भएको छ । जिल्ला अधिकांश क्षेत्रमा खानेपानीको अभाव हुँदा स्थानिय बासिन्दा रातभर जाग्राम बसेर तथा घण्टौं हिडेर खानेपानीको जोहो गर्न बाध्य भएका छन् । दोगडाकेदार गाउँपालिकामा पनि खानेपानीका मुहान सुक्दै जान थालेपछी पानीको हाहाकार भएको स्थानिय बासिन्दाले बताएका छन् । दोगडाकेदार ३ श्रीकोटको खिरेगाँउमा रहेका विभिन्न स्थानका कुवा सुक्दै जान थालेपछी पानीको हाहाकार भएको स्थानिय सुरेन्द्र भाटले जानकारी दिनुभयो । खानेपानीकै लागी भनेर रातभर जाग्राम बस्नुपरेको उहाँले बताउनुभयो । खानेपानी समेत पाउँन छोडेको छ अरु गाईबस्तु तथा सरसफाईको लागी त झनै समस्या रहेको समेत उहाँले बताउनुभयो ।

साविकको श्रीकोट गाविसको वडा नं २ विष्टटोलमा रहेको एकमात्र कुवा पनि सुक्दा पानीका लागी निकै समस्या भएको स्थानिय कृष्ण सिंह विष्टले जानकारी दिनुभयो । गाउँमा रहेको एकमात्र कुवामा पुसको महिनादेखि नै पानी सुकेको उहाँले बताउनुभयो । उक्त कुवाको पानी सुक्दै गाउँका बासिन्दाहरु अन्यत्रवाट पानीको जोहो गर्न बाध्य भएका छन् ।
खानेपानीका मुहान सुक्दै जान थालेपछी दोगडाकेदार गाँउपालिकाका अन्य वडामा पनि हाहाकार भएको बताईएको छ ।

यसैबिच बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा खानेपानीको चरम समस्या भएको स्थानीयबासीले बताएका छन् । वडा नं ८ को परीगाउँमा खानेपानीको निकै समस्या भएको स्थानीय डम्मर बोहराले जानकारी दिनुभयो । तीनघण्टाको पैदलदुरीमा रहेको मूहानबाट खानेपानीको जोहो गर्नुपरीरहेको छ उहाँले भन्नुभयो“ १२ घरपरिवारको बस्ती रहेको यो ठाउँमा खानेपानीका लागि निकै सकस हुने गरेको छ ” सुख्खायाम सुरु भएसंगै आफूहरुले खानेपानीका लागि तीनघण्टाको दुरीबाट बोकेर ल्याउनुपर्ने बाध्यताका साथै गाउँमा खानेपानीको व्यवस्था नहुँदा गाईवस्तुलाई समेत पानी खुवाउन नपाएको स्थानीयबासीले बताएका छन् । मानिसकै लागि खानेपानी बोक्न नसकिने अवस्थामा गाईवस्तुका लागि बोक्न असम्भव भएको स्थानीयहरुको भनाई छ । खानेपानीका लागि सम्बन्धित निकायहरुसंग पहल गरिएको भएपनि अहिले सम्म समस्या समाधान नभएको स्थानीयबासीको गुनासो छ ।

Exit mobile version