बझाङमा खानेपानीको हाहाकार

बझाङ, असार १४।

बझाङको सदरमुकाम लगायतका अधिकांश क्षेत्रमा पिउने पानीको अभाव देखिएको छ। जनप्रतिनिधि आएको एकवर्ष बिते पनि खानेपानी लगाएतका आधारभूत आवश्यकता सम्बोधन नहुँदा बझाङबासीले जनप्रतिनिधिप्रति गुनासो गर्न थालेका छन्।

विश्वमै जलस्रोतको सम्पन्न देश भनेर कहिलिएको नेपालका अधिकांश ठाउँमा शुद्ध खानेपानीको सहज उपलब्धता छैन।

त्यसमा पनि बझाङका जनता यतिबेला खानेपानीको अभावमा बाँचिरहेका छन्। बझाङको ग्रामीण भेग मात्रै होइन सदमुकामका जनता समेत अहिले धमिलो पानी पिउन बाध्य छन्।

१ वर्षसम्म पनि सामान्य समस्या सम्बोधन नहुँदा स्थानीय जनप्रतिनिधिले चुनावी माहोलमा दिएका आश्वासन र प्रतिबद्धता नारामै सीमित भएको गुनासो धेरैको छ।

ग्रामीण भेगतिरका जनताले कुवा र खोलाको धमीलो पानी खानुपरेको छ भने सदरमुकामका जनताले बाहुली खोला र सेती नदीको धमिलो पानी पिउनुपर्ने बाध्यता छ। पानीको चरम असुविधाका कारण सर्वसाधारणको अधिकांश समय पानी जोहो गर्नमै बित्ने गरेको छ।

जसका कारण विद्यालय जाने विद्यार्थीलाई समेत पानी जोहो गर्दा पढाइ प्रभावित बनेको स्थानीय धन बहादुर सुनारले बताए।

जनताले भोगको समस्या आफुले पनि भोगेको र अबका दिनमा सबै समस्यालाई समाधान गर्ने जनप्रतिनिधिको भनाई छ।

आफूले गरेका प्रतिबद्धतालाई नविर्सेको र जनतालाई प्राथमिकतामा राखेर काम गरिरहेको जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले बताए।

जनताको आकांक्षा अनुसार काम गर्न नसकेपनि जल्दाबल्दा समस्यालाई छिट्टै सम्बोधन गर्न आवश्यक रहेको स्थानीय जिल्ला युवा समीतीका अध्यक्ष शैलेन्द्र रोकायाले बताए।

Exit mobile version