धनगढी, साउन ११ गते ।
२०१७ देखि २०४६ साल सम्म नेपालमा ३० वर्षिय पञ्चायती व्यवस्था चल्यो ।
पञ्चायती व्यवस्था जारी रहेकै बेला २०२५ सालमा कैलालीको जानकी गाउँपालिकाका हरीप्रसाद न्यौपाने १७ बर्षकै उमेरमा भारतको प्रसिद्ध पर्यटकीय स्थल नैनीताल छिरे ।
सो बेला न्यौपानेका केहि आफन्त र छिमेकीहरु पनि भारी बोक्नका लागि नैनीताल छिरेका थिए ।
५० वर्षअघि नैनीतालका डाँडाकाँडामा भारी बोक्न सुरु गरेका न्यौपाने अहिले पनि त्यही काममा तल्लीन छन् ।
२०१७ देखि २०४६ सम्म पञ्चायती व्यवस्था, त्यसपछि पञ्चायत विरूद्ध संघर्ष र बहुदल घोषणा, बहुदलीय संसदीय व्यवस्था, शाही कू र राजाको प्रत्यक्ष शासन, राजतन्त्रको अन्त्य, लोकतन्त्रको स्थापना हुदै अहिले देश संघिय लोकतान्त्रीक गणतन्त्रमा प्रवेश गरेको छ तर हरीप्रसादको थाप्लोको नाम्लो भने छुटेको छैन् ।
कपाल र दाह्री सबै फुलेर सेताम्य भएका उनलाई अझै भारी बोक्ने बाध्यताले नछोडेको हो ।
अहिले पनि न्यौपाने नैनीतालमा हातमा नाम्लो समात्दै घुमिरहेका हुन्छन भने उमेर ढल्कीदै गएपनि भरिया बन्नुपर्ने बाध्यताले भने छोडेको छैन् ।
न्यौपानेले साहूदेखि पर्यटक तथा पढाइका लागि विभिन्न ठाउँबाट नैनीताल पुग्नेहरूका भारी बोक्दै आएका छन् ।
प्रारम्भका दिनमा न्यौपानेको दैनीक कमाई दुई रुपैयाँदेखि ५ रुपैया सम्म थियो ।
त्यति बेला नैनीतालमा भर्खर विकासको गति लिन लागेकाले पर्यटकहरु पनि धेरै पूग्दैनथे ।
अहिले दिनको चार–पाँच सयदेखि हजार÷बाह्र सयसम्म पनि आम्दानी हुन्छ ।
काम धेरै पाइन्छ भन्दा पनि गाउँका साथीभाइ तथा अग्रजहरू नैनीताल नै जाने गरेका कारण न्यौपानेको रोजाई पनि नैनीताल परेको हो ।
प्रदेश नम्वर ७ को मुख्यमन्त्रीमा नियुक्त भएकै दिन त्रिलोचन भट्टले अव मजदुरीका लागि भारतमा जान नपर्ने दावी गरे ।
तर न्यौपानेलाई आफु मात्रै होईन आफन्त सन्तानले पनि नैनीतालमा थाप्लोमा नाम्लो बोक्ने पर्ने बाध्यताबाट छुटकारा पाउला भन्ने आशा भने छैन् ।
२ छोरी र एक छोराका बुवा न्यौपाने उनीहरुकै राम्रो भविष्यका लागि नैनीतालमा भरिया बनेका छन तर सन्तानको राम्रो भविष्य हुनेमा उनी आफै विश्वस्त छैनन् ।
नैनीतालको पर्यटन व्यवसाय फस्टाउनमा ५० बर्षदेखि भारी बोक्दै आएका कैलालीका न्यौपानेको पनि केहि न केहि योगदान छ ।
बाल्यकालदेखि नैनीतालका हरेक कुनाकाप्चामा पुगेका न्यौपाने नैनीतालमा भारी बोक्ने नेपाली कामदारका अभिभावक जस्तै हुन् ।
नैनीतालमा नेपालीका कामदारको संख्या कति छ भन्ने एकिन तथ्यांक छैन तर भारी बोक्ने मात्रै झण्डै ३÷४ सयको हाराहारीमा नेपाली रहेको उनको दावी छ ।
बिहानपख घाम ताप्न नैनीतालको तल्लीतालको बसपार्क छेउमै रहेको डाँकघरको आँगनमा अधिकासं नेपालीहरु भेला हुने गरेका छन् ।
नैनीतालमा भारी बोक्दै जिन्दगी काटेका न्यौपाने अव नैनीतालमा बढिमा २, ३ बर्ष मात्रै मजदुरी गर्ने सोचमा छन् ।
त्यसपछि आफ्नै जन्मथलोमा पसिना बगाएर जिविकोपार्जन गर्ने लक्ष्य उनको छ ।