मेयरको गाडीमा बम हान्ने पक्राउ

काठमाडाैं, भाद्र १७, २०७५ ।

विराटनगर महानगरपालिकामा बम बिस्फोट गराउने भूमिगत सशस्त्र समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तराई राष्ट्रिय मुक्ति मोर्चा ‘जयकृष्ण गोइत’ समूहका तीन जनालाई प्रहरीले शनिबार राति समातेको हो ।

एक नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालका अनुसार पक्राउ पर्नेमा मोरङ जहदाका मनोज सिंह, सिरहाका अभिमन्यू गिरी र रामरिझन यादव छन् ।

तिनै जनालाई नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समूह विराटनगर र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

गोइत समूहका तिनै जनालाई प्रहरीले आइतबार सार्वजनिक गर्दैछ । विराटनगर महानगरपालिकामा गत साउन २७ गते बम बिस्फोट गराइएको थियो ।

बिस्फोट गराइएको क्षेत्रमा गोइत समूहको पर्चा फेला परेको थियो ।

बिस्फोटमा महानगरपालिकाका मेयर भीम पराजुली चढ्ने गरेको को१झ ४९४ नम्बरको गाडी क्षतिग्रस्त भएको थियो । मेयर पराजुलीको कार्यकक्षबाहिर बिस्फोट गराइएको थियो ।

बिस्फोटमा मानवीय क्षति भएको थिएन ।

बिस्फोटस्थलमा प्रेसर कुकर ह्यान्डिल फेला परेको थियो ।

बिस्फोट गराउन आएकामध्ये तीन जना पक्राउ परेका थिए ।

रिजालका अनुसार गोइतले तराईका जिल्लामा भूमिगत संगठन विस्तार गरी आपराधिक गतिविधि गराइरहेका छन् ।

सप्तरी, सिरहा, धनुषालगायत जिल्लामा गोइत समूहले सशस्त्र गतिविधि गर्दै आएको छ ।

‘नेपालबाट तराई अलग्याउने अभियानमा यो समूह सक्रिय छ, यसले चन्दा संकलन तथा मानवीय त्रास देखाउन सरकारी कार्यालयहरूमा बिस्फोट गराउने कार्य गरिरहेको छ,’ डिआइजी रिजालले भने

Exit mobile version