महेन्द्रनगरको यातायात कार्यालय बन्यो हाकिमको ‘दोकान’

महेन्द्रनगर , कार्तिक १३, २०७५  ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरका प्रमुख केशव दत्त जोशी विवादमा तानिएका छन् ।

कार्तिक महिनाको पहिलो साता जीप चालक अनुमतिपत्र खोलिए संगै कार्यालय प्रमुख जोशी विवादमा तानिएका हुन् ।

 

पैसा खाएर लाईसेन्स वितरण, निर्देशिका विपरित मोनोपोली ढङ्गले परिक्षा सञ्चालन गरेको जस्ता विभिन्न आरोप प्रमुख जोशी लाई लागेका छन् ।

ट्राईल लिने स्थलमा जेब्राक्रसिङ सहि ढङ्गले नराखिएको, ट्राफिक लाईट जडान नगरिएको, ट्राईल स्थल समेत यातायात निर्देशिका बमोजिम नभएको र परिक्षार्थीहरुलाई डेमोस्टेसन नगराई नै आफैले मौखिक रुपमा नियम बनाएर ट्राईल लिइएको परिक्षार्थीहरुको आरोप छ ।

सवारी चालक अनुमतिपत्र वितरण समितिका अध्यक्ष केशवदत्त जोशी, ट्राफिक प्रहरीका इन्सपेक्टर भरत बहादुर शाह र यातायात कार्यालयकै मेकानिकल इन्जिनियर राम शाह गरि ३ सदस्य परिक्षा सञ्चालन समिति रहेको छ ।

तीनै जना अधिकारीको मिलोमतोमा यातायात निर्देशिका अनुसार परिक्षा सञ्चालन नगरेर गैर जिम्मेवारपुर्ण तरिकाले परिक्षार्थीहरुलाई परिक्षामा सामेल गराइएको पाइएको हो ।

परिक्षा समितिले परिक्षार्थीहरुका लागि मोनोपोली रुपले बनाएका नियमावलिको कुनै सूचना समेत ननिकाली हचुवाका भरमा पहुचवालाहरुलाई पास गर्ने गरेको एकजना परिक्षार्थी जगदिश गिरीले बताए ।

‘हाकिमले कतै नभएको नयाँ नियम निकालेका रहेछन् ।

त्यो नियम बारे कुनै सूचना नै दिईएन । यहाँका हाकिमले त परिक्षार्थी लाई पास होइन, कसरी फेल गर्न सकिन्छ भनेर मोनोपोली रुपले विभिन्न नियमहरु बनाउदा रहेछन्’ उनले भने ।

यातायात कार्यालय, महेन्द्रनगरले लिएको परिक्षमा १९८ जना परिक्षार्थीले जीपको ट्राईल दिएका थिए ।

जस मध्ये २३ जना परिक्षार्थी पास भएको कार्यालय स्रोतले बताएको छ ।

लामो समय देखि ड्राइभिङ्ग गरेका परिक्षार्थीहरु समेत फेल भएको पाइएको छ ।

आफु लाई ड्राइभिङ्गमा लामो अनुभव भएको तर महेन्द्रनगरको यातायात कार्यालयले निर्देशिकामै कहि नभएको नियम लगाएर सक्षम चालकहरुलाई पनि विभिन्न बाहाना बनाउदै फेल गर्ने गरेको परिक्षार्थीहरुले गुनासो गरे ।

बजारबाट आउने डिमाण्ड, विभिन्न पार्टिका भातृ संगठनका लागि बार्गेनिङ अनुसार लाइसेन्सको कोटा छुट्टाउने र पहुचवालाको भागमा प्रतिव्यक्ति ६ देखि ८ हजार सम्मको व्यापार नै चलाउने गरेको, यातायात कार्यालय अगाडि व्यवसाय गर्दै आएका एक व्यवसायीले बताए ।

महेन्द्रनगरको यातायात कार्यालयलाई हाकिमले मनोमानि ढङ्गले आफ्नो दोकान जसरी चलाउने गरेको र बिना पहुचवाला सेवाग्राहीहरुको काम निकै सुस्त तरिकाले गर्ने गरेको उनले बताए ।

तर महेन्द्रनगरका यातायात प्रमुख जोशी आफुले पहिले देखि चल्दै आएको जसरी नै कार्यसम्पादन गर्दै आएको बताउछन् ।

ट्राईल स्थलमा केहि क्रृटि पहिले देखि नै रहेको उनले स्विकारे ।

आफुलाई आरोप लागेको जस्तो केहि नगरेको तर खुट्टा काट्ने माफियाहरुले अपवाह फैलाएको उनको दावी छ ।

बेला बेलामा विवादमा तानिदै आउने गरेका प्रमुख जोशी यस अघि धनगढीस्थित यातायात ब्यवस्था कार्यालयमा शाखा अधिकृतका रुपमा रहदा पनि पैसाको चलखेलमा तत्कालिन हाकिम कृष्णप्रसाद भुषाल संगैेको विवाद पछि महेन्द्रनगर सरुवा भएका थिए ।

Exit mobile version