अछाम, कात्तिक १६ गते ।
बेरोजगार युवालाई लक्ष्य गरी चौरपाटी गाउँपालिकाले आयोजना गरेको रोजगार मेलामा ८४१ युवाले फाराम भरेका छन् ।
बेरोजगार युवालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले गाउँपालिकाले चौरपाटी र चौखुट्टेमा उक्त मेला आयोजना गरेको हो ।
बुधबार चौरपाटीमा ५०६ जना तथा बिहीबार चौखुट्टेमा १७८ जनाले बेरोजगारी फाराम भरेका हुन् ।
यस्तै धनलक्ष्मी रोजगार कार्यक्रममा चौरपाटीमा ४३ र चौखुट्टेमा २८ जनाले तथा धनलक्ष्मी बायो टेक्नोलोजीतर्फ चौरपाटीमा ६४ र चौखुट्टेमा २२ जनाले आवेदन दिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो ।
रोजगार मेलामा १८ वर्ष पूरा भई ५८ वर्ष ननाघेका बेरोजगारले फाराम भरेका छन् । गाउँपालिकाले श्रम तथा रोजगार कार्यालय धनगढी र स्थानीय गैरसरकारी संस्था वाक नेपालसँगको प्राविधिक साझेदारीमा आयोजना गरेको युवा रोजगार मेलामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन, आत्मनिर्भर र स्वरोजगार बनेका युवाका स्थानीय उत्पादन प्रदर्शनी, युवा प्रशिक्षण तथा खुला अन्तक्र्रिया कार्यक्रम गरिएको थियो ।
मेलामा युवालाई व्यावसायिक बन्नका लागि प्रशिक्षण, बेरोजगारको तथ्याङ्क विष्लेषण, युवासँग खुला अन्तक्र्रिया, उद्यमशीलताबारे जानकारी र लघु तथा घरेलु उद्योगका विषयमा बृहत्रुपमा छलफल गरिएको थियो । नेकपाका स्थायी समिति सदस्य भीमबहादुर
रावलले सो मेलाको उद्घाटन गर्नुभएको थियो ।