कैलालीमा भरुवा बन्दुक सहित एकजना पक्राउ

कैलाली,चैत्र ३०, २०७५ ।

कैलालीमा सशस्त्र प्रहरीले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर राजस्व भन्सार गुल्म त्रिनगरबाट खटिएको गस्ती  टोलीले नेपाल भारत सीमा नजिकै कञ्चनपुरको पुर्नवास नगरपालिका ११ नमुना ईटा भट्टा क्षेत्रबाट भरुवा बन्दुक सहित आज बिहान एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पुर्नवास नगरपालिका ११ टाउके बजारका ५५ वर्षीय महेन्द्र शाही रहेको सशस्त्र प्रहरी बल नेपाल ५३ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले जानकारी दिए।

उनका अनुसार शाही बन्दुक लोड गरेकै अवस्थामा पक्राउ परेका हुन्। शाहीबाटट ६५ वटा सिसाको गोली  र  करिब  आधा किलो बारुद  समेत बरामद गरिएको छ।

शाहीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले बताए।

शाही विगत २ महिनादेखि  सिकार खेल्दै आएको  बुझिएको सशस्त्र प्रहरीले जनाएको छ।

Exit mobile version