खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

खोटाङ, चैत १२ गते ।

तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ ।

करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन ।

साढे २२ किलोमिटर लामो उक्त सडकको रेग्मीटारबाट करिब एक हजार १०० मिटर र खानीडाँडाबाट साढे १२ किलोमिटर मात्र मार्ग खोलिएको छ । रेग्मीटारबाट करिब साढे दुई किलोमिटर मार्ग खोल्ने जिम्मा रोका निर्माण सेवाले लिएको हो ।

यसवर्ष उक्त निर्माण सेवाले रु एक करोड १० लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि अहिलेसम्म कुनै काम भएको छैन । क्रमागत योजनाअन्तर्गत गतवर्ष उक्त कम्पनीले रु ७५ लाखको काम गरेको जिल्ला प्राविधिक कार्यालयका निमित्त प्रमुख दीपेन्द्र यादवले बताउनुभयो ।

खोटाङको दिक्तेलबाट तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने खानीडाँडा–रेग्मीटार सडक निर्मार्णमा भइरहेको ढिलाइ तथा समस्याका बारेमा जिल्ला समन्वय समितिका पदाधिकारी र प्राविधिक टोलीले शुक्रबार स्थालगत अध्ययन गरेको थियो । समन्वय समितिका सदस्य एवं भौतिक योजना तथा पूर्वाधार विकास समिति संयोजक उदयबहादुर कार्की नेतृत्वको अनुगमन टोलीले उक्त सडक जिल्लाको गौरवको योजना भए पनि अपेक्षित प्रगति र गुणस्तरीय काम नभएको ठहर गरेको छ ।

निर्माणको जिम्मा लिएको कम्पनीका शशि राईले गतवर्ष खोलिएको मार्ग छोटो समयमा धेरै काम गर्नुपर्ने भएकाले मापदण्डअनुसार नभएको स्वीकार्दै यसवर्ष सबै काम सम्पन्न गर्ने बताउनुभयो । “अख्तियारी पनि ढिलो आयो । सबै काम सम्पन्न पनि भएको छ ।” उहाँले भन्नुभयो, “यसवर्ष शुरुबाटै मापदण्डअनुसार काम गर्छौँ । निर्माणस्थलभन्दा केही तल्लो भागमा अहिले चैते धान रोप्ने काम भइरहेको छ । धान रोपाइँ सकिनासाथ स्काभेटर र ब्रेकर लगेर जाने तयारीमा छौँ ।”

तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु ढुवानीमा सहजता ल्याउने उद्देश्यले दुई वर्षअघि बसेको सर्वदलीय÷सर्वपक्षीय भेलाले उक्त सडकलाई उच्च प्राथमिकतामा राखेको थियो । सर्वदलीय÷सर्वपक्षीय निर्णयसँगै छिटो सम्पन्न गर्ने उद्देश्यले दुवै क्षेत्रबाट काम थालिएको उक्त सडकको खानीडाँडाबाट दिखुवादोभानसम्म करीव साढे १२ किलोमिटर मार्ग खोलिएको छ ।

तीन वर्षभित्र मार्ग खोलिसक्ने लक्ष्यका साथ काम थालिएको उक्त सडकखण्डमा ठूलाठूला चट्टान रहेकाले सहज रुपमा निर्माण कार्य सम्पन्न हुने सम्भावना छैन । साप्सुखोला किनारै किनार पर्ने उक्त सडकखण्डको महभिरमा ठूलो चट्टान रहेको छ । (रासस)

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version