नेपाल–भारत सीमा विवाद सुल्झाउन केन्द्र सरकारलाई अनुरोध

कैलाली, वैशाख २० ।

प्रदेश नम्बर–७ सरकारले कन्चनपुरको पुनर्वासलगायतका क्षेत्रमा नेपाल–भारतबीच देखिएको सीमा विवाद सुल्झाउनका लागि केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले दुई देशबीचको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

यस्तै, सीमा क्षेत्रमा देखिएका विवाद समाधानका लागि बनेको दुई देशको संयुक्त नापी टोलीको समयावधि सकिनेक्रममा रहेकाले त्यसको समय सीमा बढाउनका लागि पनि अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

कन्चनपुरको पुनर्वास क्षेत्रमा केही दिनअघि नेपाली पक्ष र भारतीय सीमा सुरक्षा बल (एसएसबी)बीच विवाद उत्पन्न भएको थियो ।

भारतको दुधुवा नेसनल पार्क बाट आउने वन्यजन्तु रोक्नका लागि नेपाली पक्षले तारबार गर्न खोज्दा एसएसबीले अवरोध पुर्‍याएपछि विवाद भएको थियो ।

सीमा विवादकै कारण गत वर्षको फागुनमा एसएसबीले गोली चलाउँदा पुनर्वासस्थित आनन्दबजारका गोविन्द गौतमको ज्यान गएको थियो ।

Exit mobile version