आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

खोटाङ, असार २२ गते ।

केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ ।

डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध गराएर गरिएको मिर्गौला प्रत्यारोपण सफल भएपछि सुरेशले पुनर्जन्म पाउनुभएको हो ।

भक्तपुरस्थित अंग प्रत्यारोपण केन्द्रका डा पुकार श्रेष्ठलगायत स्वास्थ्यकर्मीको टोलीले सुरेशको सफल मिर्गौला प्रत्यारोपण गरेको प्रदेशसभा सदस्य राजन राईले बताउनुभयो । “कमजोर आर्थिक अवस्थाका सुरेश दर्जीले बिहीबारदेखि पुनर्जन्म पाएका छन् ।” उहाँले भन्नुभयो, “यसमा विशेष धन्यवादका पात्र डा पुकार श्रेष्ठलगायत उहाँको टोली रहेको छ ।”

सुरेश दर्जीलगायत उहाँका परिवार प्रदेशसभा सदस्य राईको पारिवारिक सदस्यजस्तै भएर गाउँमा बस्दै आएका छन् । उहाँहरु एक आपसका सहयोगी हुनुहुन्छ ।

सानै उमेरमा बुबाले छाडेपछि प्रदेशसभा सदस्य राईको शरणमा रहनुभएका सुरेश र उहाँकी आमाको स्वास्थ्य अवस्था मिर्गौला प्रत्यारोपणपछि पनि ठीक रहेको डा श्रेष्ठले बताउनुभएको छ । “उनीहरु दुवैको अवस्था अहिलेसम्म ठीक छ ।” उहाँले भन्नुभयो, “उनीहरुको घाउ ठीक हुनासाथ घर पठाइनेछ ।”

मिर्गौला रोगी सुरेशको उपचारमा अहिलेसम्म करीब रु सात लाख खर्च भएको प्रदेशसभा सदस्य राईले बताउनुभयो ।

“सुरेशको उपचारमा हामीले कसैसँग सहयोग मागेनौँ ।” उहाँले भन्नुभयो, “परिवारका सदस्य तथा केही इच्छुक दाताले स्वतःस्फूर्त सहयोग गर्नुभएको छ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद !”

सुरेशका बुबा टेकबहादुर दमाई अहिलेसम्म सम्पर्कविहीन रहेको स्थानीयवासीले बताएका छन् । सुरेशका दाजु दिलबहादुर दमाई फरक क्षमताका हुनुहुन्छ ।

-रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version