चार नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

कञ्चनपुर, असार २२ गते

कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् ।

नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो ।

यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ ।

जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ ।

स्वास्थ्य अधिकृत तीर्थराज भट्टले भन्नुभयो, “वडा, नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएपछि मात्रै नगरपालिकालाई सुनिश्चितता घोषणा गरिन्छ ।”

सबै नगरपालिका र गाउँपालिकाका बालबालिकाले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताउनुभयो ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार खोप लगाउने उमेरका कञ्चनपुरका नौ हजार बढी बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन् ।

खोपले रोगसँग लडने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरालगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने हुन्छ ।

क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीसलगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ ।

बालबालिकाले खोपका सबै मात्रा पाएपछि जिल्लाका सबै प्राथमिक उपचार केन्द्र, स्वाथ्य चौकी, उपस्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका गाउँपालिका र नगरपालिकालाई चार वर्षअघि पूर्ण खोपयुक्त घोषणा गरिएको थियो ।  रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version