शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय !

ललितपुर, असार २२ गते ।

लुभुस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालय शिक्षित अभिभावकलाई आकर्षित गर्न लागिपरेको छ ।

शिक्षित अभिभावकका सन्तान आकर्षित गर्न सक्दा मात्रै विद्यालयप्रति अरु अभिभावकको आकर्षण बढ्ने विद्यालयले जनाएको छ ।
वैशाख महिनामा भर्ना अभियान शुरु भएसँगै यो विद्यालयले स्थानीय अभिभावक, स्थानीय निकाय र बुद्धिजीवीसँग यही विषयमा छलफल गर्न थालेको सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो ।

अभिभावकलाई सामुदायिकमा नै सन्तान पढाउनु भनेर अनिवार्य गर्न नमिल्ने भएपनि सम्झाउन सकिने सहप्रधानाध्यापक रवीन्द्र थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्षदेखि निरन्तर लागेका छौँ र नतिजा पनि देखिँदैछ ।”

विद्यालयले केही वर्षदेखि कार्यरत शिक्षकका सन्तान सामुदायिकमै पढाउन शुरु गरेको उहाँ बताउनुहुन्छ ।

शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले शिक्षित अभिभावकलाई लक्षित गरिएको हो । उहाँले भन्नुभयो, “जसरी अहिले विद्यालय शिक्षकका छोराछोरी पढ्ने विद्यालय भन्ने छाप छ त्यसरी नै शिक्षित आमाबाबुका छोराछोरी पढ्ने विद्यालय भनेर चिनाउने हाम्रो योजना छ ।”

आफूहरुले सन्तान पढाएपछि विद्यालयमा शिक्षित अभिभावक पनि सन्तान भर्ना गराउन आउन थालेको सह–प्रधानाध्यापक थापा बताउनुहुन्छ ।

शिक्षित अभिभावकले सन्तान सामुदायिकमा पढाउँदा समुदायमा सकारात्मक सन्देश जानेछ । उहाँ भन्नुहुन्छ, “पढे–लेखेका मान्छेले त सामुदायिकमा पढाए भने सामुदायिक विद्यालय नराम्रो होइन रहेछ भन्ने सन्देश फैलन्छ ।”

विद्यालयले अभिभावकको चाहना बुझेर केही वर्ष पहिलेदेखि अंग्रेजी माध्यममा पढाउन थालेको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version