टिपर दुर्घटका मृतक १९ मध्ये १८ जनाको सनाखत

बागलुङ, असार २२ गते ।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिपर दुर्घटनामा परी मृत्यु हुने १९ मजदूरमध्ये १८ जनाको सनाखत भएको छ ।

मृृृृत्यु हुनेमा रोल्पाका १९ वर्षीय महेश रोका, २८ वर्षीय सुपमान रोका, २१ वर्षीया जीतमाया घर्ती, ३२ वर्षीय शोन्तु घर्ती, २० वर्षीया सिर्जना मगर, २३ वर्षीय राष्ट्रे रोका र ३२ वर्षीय राजकुमार पुन छन् ।

त्यसैगरी दाङका ३० वर्षीय बालकुमार घर्ती, ३१ वर्षीया कविता घर्ती मगर, ४३ वर्षीया शान्ति थापा, ३५ वर्षीय सुबेर चौधरी र २५ वर्षीय कमल बुढा छन् ।

यस्तै धादिङका २३ वर्षीय सुजन घलान, सिन्धुपाल्चोकका २० वर्षीय जीवन माझी, कैलालीका २२ वर्षीया बिन्ती घर्ती र २३ वर्षीया विनीता घर्ती, कपिलवस्तुका ३५ वर्षीय कमानसिंह रोका र स्याङ्जाका २४ वर्षीय कृष्ण क्षेत्री छन् । मृतकमध्ये एक जनाको नाम खुल्न सकेको छैन ।

बेनी–कोरला सडक खण्डमा काम गर्ने मजदूर चढेको बा २ क २२१९ नंको टिपर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइते तीन जनालाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरी चौकीका प्रहरी हवल्दार कृष्णगोपाल परियारले जानकारी दिनुभयो ।

घाइतेमध्ये पाँच जनालाई मुस्ताङको सदरमुकाम जोमसोममा उपचारका लागि ल्याइएको छ । अन्य घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बताउनुभयो । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version