आमाको आमरण अनसन पछी अधिकारीका हत्या अाराेपित माओबादी नेता जेल चलान

काठमाडौं, असार २४

माओवादी सशस्त्र युद्धका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकिारको हत्यामा संलग्न रहेको आरोप लागेका माओवादी कार्यकर्ता जेल चलान भएका छन् ।

माओवादी युद्धकालमा हत्या गरिएका गोरखाका फुजेलका अधिकारीको हत्यामा संलग्न भनिएका माओवादी कार्यकर्ता छबिलाल पौडेललाई सर्वोच्च अदालतले आइतवार कारागार चलान गरेको हो ।

पौडेल आइतवार आफैं सर्वोच्च अदालतमा उपस्थित भएका थिए । सर्वोच्च अदालतले पौडेललाई मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

अधिकारीको हत्यामा संलग्न रहेको आरोप लागेका पौडेल यसअघि जिल्ला अदालत चितवनको ४ वैशाख २०७१ को आदेशअनुसार धरौटीमा रिहा भएका थिए ।

चितवन जिल्ला अदालतले पौडेललाई धरौटीमा रिहा गर्न दिएको आदेश र सो आदेशलाई सदर गर्नेसम्बन्धमा उच्च अदालत हेटौंडाले ३० असार २०७२ मा जारी गरेको आदेश मिलेको नदेखिँदा सर्वोच्च अदालतले ‘अन्यथा प्रमाणित नभएसम्म’ पौडेलको हकमा जारी भएको आदेश बदर गरेको थियाे ।

सर्वोच्च अदालतले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै ६ पुस २०७२ मा पौडेललाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

सर्वोच्चले जारी गरेको आदेश कार्यान्वयन नभएको भन्दै मृतक कृष्णप्रसाद अधिकारीकी आमा गंगामाया गत जेठ १५ गतेदेखि वीर अस्पतालमा आमरण अनशनमा छिन् ।

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनमा बसेकै बेला मृतक कृष्णप्रसादका पिता नन्दप्रसा अधिकारीको निधन भएको थियो ।
सर्वोच्चको सोही आदेशअनुसार थुनामा जान पाउँ भन्ने पत्रसहित ६८ वर्षीय पौडेल आइतवार अदालतमा उपस्थित भएका थिए ।

उपस्थित भएलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।

Exit mobile version