तीनदिन देशैभर बदली र वर्षा हुने

काठमाडाँै, असार २५ गते ।

आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औँल्याएको हो ।

आज दिउँसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनेछ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाका साथै पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

त्यसैगरी असार २६ गते (मंगलबार) दिउँसोको समयमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।

साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी असार २७ गते (बुधबार) पनि देशभरि नै सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने सम्भावना छ ।

सोही दिन रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने देखिन्छ ।

साथै मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा १८.३ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७०, धनगढीमा १५, डडेल्धुरामा पाँच र ओखलढुङ्गामा तीन मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम २७.८ र न्यूनतम २०.५ डिग्री सेल्सियस रहेको छ । (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version