महाकाली किनारमा मजदूरको शव

भीमदत्तनगर, असार २६ गते ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भजेलास्थित महाकाली नदी किनारमा आज बिहान एक मजदूर मृतावस्थामा फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–३ घर भई विगत केही वर्षयता भजेलामा जग्गा अँधियामा लिएर काम गर्दै आएका ४५ वर्षीय नैनराम सार्की महाकाली नदी नियन्त्रणका लागि बनाइएको तटबन्ध छेउमा मृतावस्थामा भेटिएका हुन् ।

घटनास्थल पुगेको प्रहरी टोलीले मृतक सार्कीको टाउकोमा गहिरो चोट लागेको जनाएको छ ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले घटनाका सम्बन्धमा छानविन भइरहेको जानकारी दिनुभयो । सार्कीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।  (रासस)

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version