काडमाडौंँ, साउन २ गते ।
साउन महिना सुरु भएसँगै राजधानीमा हरियो चुरा र मेहन्दी लगाउने चलन संस्कृतिकै रूपमा अगाडि बढेको छ ।
यो संस्कृतिले किशोरी, युवती सबैलाई छोएको छ ।
खासगरी महिलाले साउन महिनाभर हातमा हरियो चुरा र मेहन्दी लगाउँछन् ।
पहिले धर्म संस्कृति मान्ने पाका महिलामा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र अविवाहित युवतीका लागि समेत फेसन जस्तो भएको छ ।
साउन लाग्ने बित्तिकै रातो, पहेंँलो र हरियो चुरा, पोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहलपहल बढ्ने गरेको पाइन्छ ।
न्युरोडमा मेहेन्दी लगाइरहनुभएकी समिता बाँस्तोला भन्नुहुन्छ, “हरेक संस्कृतिमा महिला सुन्दरताको कुरा गरिएको पाइन्छ ।
यो सुन्दरता कसरी प्राप्त गर्ने भन्ने उपाय खोज्ने क्रममा मेहन्दी र चुराको पनि प्रयोग बढेको हो”
“म पनि सुन्दर हुन नै हरियो चुरा मेहेन्दीमा सजिएको हो ।
यो सबै मैले मेरो श्रीमान्का लागि गरेको हो, उहाँ थप्नुहुन्छ, अहिले मेरो श्रीमान् विदेशमा हुनुहुन्छ तर उहाँको लामो आयु र सुस्वास्थ्यको कामना गदै व्रत पनि बसेको छु ” उहाँको भनाइ छ ।
यस्तै इन्द्रचोकमा हरियो चुरा खरिद गरिरहनुभएकी सजना श्रेष्ठलाई पनि साउनको फेसनले छोएको छ ।
उहाँ भन्नुहुन्छ, ‘सबै महिला दिदी बहिनीको हातमा चुरा र मेहेन्दीले सजिएको छ, आफ्नो हातमा नहुँदा खल्लो हुने रहेछ ।’
हरेक वर्ष आफ्ना साथीहरू तथा आफन्तलाई चुरा दिनुहुने श्रेष्ठले साउनलाई धेरैले प्रेमको महिना मान्ने गरेको बताउँदै प्रेमीका लागि चुरा र मेहेन्दी लगाएको बताउनुभयो ।
यो समय किशोरी वा युवतीले आफूलाई हरियो चुरा र मेहन्दीमा सजाउने ‘पपुलर कल्चर’ को रूपमा परिचित भएको छ ।
जानकारहरूका अनुसार पहिले गाउँघरमा मेहन्दी पाउन कठिन हुन्थ्यो ।
मेहन्दी लगाउने चलन पनि थिएन । महिलाहरुले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे ।
हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ ।
मेहेन्दी र चुरापोतेको काम गर्ने व्यसायीलाई यतिबेल भ्याईनभ्याई छ ।
कतिपय अविवाहित युवतीको भनाइमा हत्केलामा लगाएको मेहेन्दीको रङ्ग गाढा बसेमा औधी माया गर्ने पति पाइन्छ भन्ने विश्वास पनि छ ।
अन्य किशोरीझैं हरियो चुरा र मेहेन्दीमा सजिनुभएकी इपिसा कँडेलको पनि यस्तै विश्वास छ ।
‘आमा दिदीहरू पनि त्यसै भन्दै आएका छन,’ उहाँले भन्नुभयो, ‘भर्खरै एसएसली उत्तीर्ण इपिसाले आफ्नो हातमा लगाएको मेहेन्दी निकै गाढा भएकाले भविष्यमा माया गर्ने पति पाउँछु भन्ने विश्वास मनमा पलाएको छ ।’
उहाँले आफ्नो नाडीमा दुई दर्जन हरिया काँचका चुरा पनि सजाउनुभएको छ ।
उहाँले बितेका पाँच वर्षदेखि साउन महिनामा नियमित हरियो काँचका चुरा र मेहेन्दी लगाउँदै आएको बताउनुभयो ।
पौराणिक मान्यताअनुसार साउन महिना देवताहरूका पनि देवता महादेव शङ्कर अर्थात् शिवको महिनाका रूपमा लिइन्छ ।
पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाले यसलाई बढी महत्वको रूपमा लिने गर्छन् । ‘साउन महिना धार्मिक, प्राकृतिक र साँस्कृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ’ संस्कृतिविद गणेशराम लाक्षीले भन्नुभयो, ‘शिवजीसँग जोडिएको महिना भएकाले महिलाका लागि यो महिना बढी महत्वपूर्ण मानिन्छ ।’
साउनमा हरियो, पहेंँलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ ।
हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ ।