काठमाडौँ, साउन ४ गते ।
काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएकोे छ ।
बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ ।
चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ ।
फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन् ।
महानगरपालिकाले फोहर व्यवस्थापन गर्दै आएको सिसडोल र त्यस आसपास क्षेत्रमा वर्षाले सडक अवरुद्ध भएपछि समस्या उत्पन्न भएको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकमा संकलन भएका फोहरलाई छिटो व्यवस्थापनका लागि प्रयास भइरहेको जानकारी दिँदै सर्वसाधारण नागरिकले घरबाट निस्कने फोहरलाई अहिले सडकमा जथाभावी नमिल्काउन आग्रह गर्नुभयो ।
काठमाडौँमा मात्र दैनिक करीब ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको महानगरपालिकाले जनाएको छ । (रासस)