पोलियो खोपका नाममा एफआइपिभी भ्याक्सिन सुरु

काठमाडौं, साउन १३

 सरकारले पोलियो खोपका नाममा नयाँ भ्याक्सिन सुरु गर्ने भएको छ ।

विगतमा लगाउँदै आएको आइपिभी भ्याक्सिनको अभाव भएपछि सरकारले नयाँ भ्याक्सिन एफआइपिभी सुरु गर्ने भएको हो ।
आइपिभि खोप १४ महिना उमेरका बालबालिकलाई लगाइन्थ्यो भने एफआइपिभि खोप ६ साता र १४ महिनाको उमेरमा गरी दुईपटक लगाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य महाशाखाका अनुसार आइपिभी भ्याक्सिन विश्वभर अभाव भएपछि यस वर्षबाट एफआइपिभी नामक भ्याक्सिन सुरु गर्न लागिएको हो ।
‘ सम्पूर्ण विश्व पोलियो उन्मूलनको अभियानमा लागेको छ,’ महाशाखाका खोप अधिकृत भरत भण्डारीले भने, ‘अभियान सञ्चालन भइरहँदा आइपिभी अभाव भएकाले त्यसलाई थप प्रभावकारी बनाउन एफआइपिभी खोप चलाउन लागेका हौँ ।’
ओपिभीले पक्षाघात गराउने भएपछि बन्द
विश्व स्वास्थ्य संगठनले सन् २०१३ देखि सन् २०१८ भित्र पोलियो उन्मूलन गर्ने अन्तिम रणनीति तयार पारेको छ ।

नेपालले यसैलाई आधार मानेर सन् २०१४ देखि नै पोलियो निर्मूल गर्ने कार्ययोजना बनाएको थियो ।
भण्डारीका अनुसार पोलियो उन्मूलन गर्न आइपिभी भ्याक्सिन सुरु गर्नैपर्ने हुन्छ ।

वर्षौँदेखि नेपालमा मुखबाट खुवाउने ओपिभी सञ्चालन हुँदै आएको थियो ।

ओपिभी खोप तीन प्रकारको भाइरसविरुद्ध दिने गरिन्थ्यो ।
उक्त थोपाले बच्चालाई पक्षाघात गराउने भएपछि सरकारले मुखबाट खुवाउने पोलियो थोपा हटाएको हो ।

भण्डारीले थपे, ‘ओपिभीले बच्चालाई पक्षाघात गर्ने भएका कारण हामी पोलियो उन्मूलनमा पुग्न सक्ने अवस्था रहेन ।

त्यसैले तीनमध्ये दुई हटाएर त्यसलाई समेत कभर गर्ने हिसाबले आइपिभी सञ्चालन गरेका होैँ ।

सरकारले सन् २०१६ बाट ओपिभी खोप हटाएको थियो ।
आइपिभी पनि ओपिभी खोपजस्तै तीन प्रकारका भाइरसविरुद्ध खोप हो ।

पोलियो उन्मूलन रणनीतिअनुसार आइपिभी सञ्चालन गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र हो । तर, विश्वव्यापी अभावले गर्दा नेपालमा सो खोप लामो समय चल्न सकेन ।
आइपिभी नेपालमा करिब एक वर्ष मात्रै सञ्चालन हुन सक्यो । हाल बन्द रहेको खोप पुनः यस वर्षबाट देशैभर सञ्चालन हुने भएको छ । विश्व स्वास्थ्य संगठनले लामो अनुसन्धानपछि आइपिभीलाई एफआइपिभीका रूपमा दिन सक्ने परिणाम निकाले सँगै सरकारले उक्त खोप चलाउन लागेको हो ।

Exit mobile version