३१ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा

लमजुङ, साउन १५, २०७५ ।
लमजुङमा ३१ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेको रहस्य खुल्न आएको छ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसुति शाखाको रेडर्कले त्यस्तो देखाएको हो ।

कानूनमा २० वर्षअघि विवाह गर्न बन्देज छ । तर, लमजुङ जिल्लामा भने ३१ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् ।

जिल्ला सामुदायिक अस्पतालमा प्रसुति गराउन आउने मध्येमा ३१ प्रतिशत महिला २० वर्ष मुनिका रहेको सो अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सिर्जना हमाल बताउनु भएको छ ।

उहाँका अनुसार २० वर्षभन्दा कम उमेरमा गर्भवती भएका महिलाहरूको विवाह भने १६ देखि १८ वर्षमा भएको पाइएको छ । यो तथ्यांकले आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बन्न गएको छ ।

सानो उमेरमा गरिने विवाहले महिलाहरूको स्वास्थ्यमा पनि असर पर्ने हँुदा यसतर्फ सचेत गराउन स्वास्थ्य शिक्षाबारे विद्यालय तहमै बढी जानकारी गराउनुपर्ने जिल्ला सामुदायिक अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सिर्जना हमाल बताउनु हुन्छ ।

जिल्ला सामुदायिक अस्पताल लमजुङमा आर्थिक वर्ष २०७४÷७५ मा १ हजा र १ सय ९० जनाले अस्पतालबाट प्रसूति सेवा लिएकोमा २० वर्षमुनिका ३ सय ६३ जना रहेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत युवराज देवकोटा बताउनु हुन्छ ।

उहाँका अनुसार अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्याङ्कमा प्रसूति गराउनेमध्ये केही १४ वर्ष उमेरका किशोरी पनि भेटिने गरेका छन् ।

२० देखि ३५ वर्ष उमेरसम्म मात्र गर्भवती हुँदा स्वास्थ्य राम्रो हुने अस्पतालकी नर्सिङ प्रमुख राममाया ठकुरी बताउँछिन् ।

उहाँका अनुसार ३५ भन्दा माथिको उमेर पनि प्रसूतिका लागि उपयुक्त नहुने र १९ वर्षभन्दा कम र ३५ भन्दा माथिको उमेरमा गभर्वती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको संक्रमण तथा मृत्युको जोखिम समेत धेरै हुने हुन्छ ।

यस विषयको चेतना ग्रामीण तहसम्म पु¥याउन संयन्त्र बनाइए पनि प्रभावकारी हुन सकेको देखिएन ठकुरी बताउनु हुन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्ला स्थित ४ नगरपालिका र ४ गाउँपालिकामा ६ सय ६९ जना महिला स्वास्थ्य स्वयंसेवीकाहरू कार्यरत रहेको र उनीहरूबाट आमा सुरक्षा कार्यक्रमलाई अगाडि बढाइएको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका सुरक्षित मातृशिशु फोकल पर्सन अम्बीका केसीले बताउनु भयो ।

अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १ हजार २ सय २ जनाले प्रसूति सेवा लिएकोमा २ सय २५ जना २० वर्षमुनिका रहेको तथा आर्थिक वर्ष २०७२÷७३ मा १ हजार २ सय २५ जनाले प्रसूति सेवा लिइएकोमा २ सय ५६ जना २० वर्षमुनिका रहेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, आर्थिक वर्ष ०७३÷७४ मा ४१ प्रतिशत महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन् जसमध्ये करिब ३० प्रतिशतले जिल्ला सामुदायिक अस्पतालबाट सेवा लिएको जिल्ला सामुदायिक अस्पतालका इमरजेन्सी अफिसर गणेश गुरुङले बताउनु भयो ।

ग्रामीण तहसम्म मातृशिशु कार्यक्रमलाई सञ्चालन गरेसँगै पछिल्लो समय स्वास्थ्य संस्थामा गर्भ परीक्षण तथा प्रसूति सेवा लिनेको संख्यामा पनि वृद्धि हुँदै गएको जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख केशवप्रसाद चापागाइँले बताउनु भएको छ ।

उहाँका अनुसार कम उमेरमा गर्भवती हँुदा स्वास्थ्यमा गम्भीर समस्या पर्ने भन्दै सचेतना बढाउन महिला स्वास्थ्य स्वयंसेविकाको सहयोग लिने गरिएको छ ।

Exit mobile version