विपन्नका छाना फेर्दै वडा

बागलुङ, साउन १८ गते ।

काठखोला गाउँपालिका–७ का खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडा कार्यालयले सुरक्षित छानोमुनी ल्याउन लागेको हो ।

आउँदो दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो राखिने कार्यालयले जनाएको छ ।

विपन्न, एकल महिला र दलित समुदायको खरको घर विस्थापन गर्ने योजनामा वडा कार्यालय छ ।

वडाअध्यक्ष प्रेम लामिछानेका अनुसार गत आवमा १४ वटा घर जस्तापाताले छाइएको थियो ।

अहिले थप ३० खरले छाएका घरमा एकैसाथ जस्तापाता राख्ने काम शुरु भएको छ ।

बहत्तर विपन्न परिवारका घर पहिचान गरी स्थानीयसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाअध्यक्ष लामिछानेले बताउनुभयो । वडाले आगामी आवमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

“खरको छानोमुनी बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं” वडाअध्यक्ष लामिछानेले भन्नुभयो ।

जस्तापाता खरिद र ढुवानीमा वडा कार्यालय आफँैले लगानी गरेको छ भने जस्तापाता फेर्न गाउँलेले पनि सघाएका छन् ।

आर्थिक विपन्नताका कारण छानो फेर्न नसकेका परिवारलाई वडा कार्यालय साहारा बनेको छ ।

जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी पनि खुशी छन् । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version