मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको जेनेरेटरमा आगलागी

सुर्खेत, भाद्र ४, २०७५ ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आज अपराह्न आगलागी भएको छ ।

अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ ।

आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ ।

आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।

विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

Exit mobile version