गर्भवती महिलालाई स्वस्थ बच्चा जन्माउने वातावरण बनाउन आवश्यक

काठमाडौं , भाद्र ८, २०७५ ।

विवाहित महिला गर्भवती हुनु र स्वस्थ बच्चा जन्माउनु नेपालको संविधान २०७२ मा नैसर्गिक अधिकारका रुपमा स्थापित गरिएको छ ।

तर नेपाल गरिबि र अभावमा गुज्रीएको आर्थिक दृष्टिकोणले कमजोर मुलुक हो ।

यस्तो अवस्थामा संविधान र कानूनले ती गरिब महिला जो गर्भवती छन् उनका लागि सकुशल स्वस्थ बच्चा जन्माउने वातावरण कुन अस्पताल तथा स्वास्थ्य संस्थामा तय गरेको छ ?

महिला गर्भवती बने देखि बच्चा जन्माउने बेला सम्म पटक पटक मरेर ठूला ठूला चुनौती पार गर्दै सघर्ष गर्छिन् ।

यस्तो अवस्थामा राज्यले विशेष व्यवस्था गर्नुपर्छ भने घरपरिवार, आफन्त, समाज, छरछिमेकिले समेत उत्तिकै सहयोग र सद्भाव देखाउँनुपर्छ ।

कानूनी भाषामा जेसुकै लेखिएको भएता पनि व्यवहारमा लागु हुन सकेको छैन भन्ने कुरालाई बेथानचोक गाउँपालिका वडा नं ६ की १८ बर्षिया सुमित्रा विकको घटनाले छर्लङ पार्दछ ।

सुमित्र विक बहुविवाहको केसमा जेठीको उजुरी अनुसार २०७५ साल असार ९ गते धुनामा परिन ।

उकानूनी कारवाहीको भागीदार बनिन र काभ्रेको धुलिखेलमा रहेको जेलमा थुनामा परिन् ।

उनी गर्भवती भएको र बच्चा जन्मने बेला भैसकेकाले उनका श्रीमान् कुमार थिङ्गको आग्रहमा सुमित्रालाई २०७५ साल श्रावण २५ गते तारिखमा छोडियो ।

उनका श्रीमान् कुमार थिङ्ग जेलमै छन् ।

सुमित्रा विहिवार तारिख तोकिएकाले जिल्ला अदालत धुलिखेलमा हाजिर हुन् आईन् ।

उनलाई बाटो देखिनै प्रशव बेथाले च्याप्यो ।

उनी सकी नसकी अदालत पुगेर हाजिर गरि सरासर काठामाडौ विश्व विद्यालय शिक्षण अस्पताल तथा सामुदायिक अस्पताल धुलिखेलको प्रसुति वार्डको आकस्मिक कक्षमा पिता र सहयोगी रेशम बिकका साथ पुगिन् ।

रेशम बिक भन्छन् ः सुमित्रा दुई दिन लगातार हिडेर यहि भाद्र ७ गतेको तारिख भ्याउन धुलिखेल आउँदा गाह्रो भएको रहेछ ।

उहाँको बुबाले धुलिखेल अस्पताल ल्याउनुभएको रहेछ म पनि बच्चा बिरामी भएकाले धुलिखेल अस्पतालमै थिए ।

उहाँहरुले मलाई भेट्नुभयो ।

मानवीयताको नाताले मैलै धुलिखेल अस्पतालको प्रसुति वार्डको आकस्मिक कक्ष सम्म पुर्याउन सहयोग गरे ।

अस्पतालमा नर्सहरुले सुमित्राको परिचय लिनुभयो । मैले उहाँको श्रीमान् कुमार थिङ्ग बहुविवाहको केशमा जेलमा रहनुभएको र उनी धरौटीमा छुटेको बताए ।

नर्सहरुले आफुभन्दा सिनियरलाई खबर गरे ।

सिनियर नर्स आएर सुमित्रालाई भर्ना गर्नुपर्छ । बच्चा सजिलै जन्मिएन भने अप्रेशन गर्नुपर्ने पनि हुन सक्छ, रगत चाहिन्छ, आईसीयु पनि चाहिन सक्छ भन्नुभयो ।

नर्सहरुको सल्लाह अनुसार सुमित्राको बुबाले छोरीलाई भर्ना गर्ने भन्नुभयो । एकजना चिकित्सक आएर तपाईहरुको पुलिस केस रहेछ थापाथली लैजानुस हामी यहाँ हेर्दैनौ भन्नुभयो ।

हामीसँग साधन पनि छैन पैसा पनि छैन सुमित्राको ज्यान बचाउन पाए पैसा त हामी पछि ल्याएर तिरौला ।

भोली सम्म म पैसा जुटाउँछु भनेर सुमित्राको बुबाले भन्नुभयो । चिकित्सकले भर्नाको लागि डिपोजिट राख्नुपर्छ भन्नुभयो ।

साथमा पैसा नभएका कारण हामी निराश भएर बाहिरियौ ।

अन्तमा मेरो धुलिखेलमा रहेको कोठामा ल्याएर राख्ने पैसाको बन्दोबस्त गरेर थापाथली लैजाने भनेर बाहिरियौ ।

पुनः चिकित्सकले बोलाएर २ वटा घर खुलिसकेको छ, बच्चाको धड्कन राम्रै छ डिपोजिट राख्नुस् भर्ना हुन्छ भन्नुभयो ।

हाम्रो साथमा जम्म १ हजार रुपैया मात्र थियो । त्यतिले हुन्न थापाथली नै लैजानोस त्यहाँ भए निःशुल्क हुन्छ भन्नुभयो ।

सहयोगी रेशमका अनुसार सुमित्राको बुबा पैसा खोज्न भकुण्डे तर्फ लाग्नुभयो ।

सुमित्रालाई कोठामा ल्याएर राख्यौ । रातभरी पनि उनलाई प्रशव वेथाले च्यापीरहयो । उनको बुबा आईपुग्नुभएन । विहान भएपछि निकै गाह्रो भयो । पैसा नभएका कारण अस्पताल लैजान सकेनौ ।

अन्तमा शुक्रवार विहान १० बजे देखि छरछिमेकका आमा बिष्णुमाया कार्की, दिदीहरु शर्मिला तामाङ, संगिता साँहु,अमृता महतो, इन्दिरा कार्की लगायतको सहयोग र अथक प्रयासमा दिनको १ बजे नवजात शिशुको घरमै जन्म भयो ।

बच्चा घ्यार घ्यार गरिरहेको छ, दुध चुसेको छैन र आमाको दुध पनि आएको छैन ।

यस्तो अवस्थामा हामी जस्ता गरिबका लागि लोकतन्त्र, सरकारको फोस्रो नारा संविधानमा उल्लेख गरिएको स्वास्थ्य सेवा आम जनताको नैसर्गिक अधिकार भन्ने लेखाईले केही गर्दो रहेनछ ।

म आफ्नो बिरामी बच्चालाई अस्पतालमा छोडेर यता सुमित्राको समस्याको स्याहारमा जुटेको छु ।

रेशम ज्यामी काम गरेर आफ्नो परिवार पाल्दै आएका एक मनकारी व्यक्ति हुन् ।

उनकै सहयोगमा आज सुमित्राको बच्चा त जम्मियो ।

आर्थिक अवस्थाका कारण उनको पोषण र बच्चाको रेखदेख गर्न सक्नेपरिवारको अवस्था छैन ।

सुमित्राका श्रीमान पनि जेलमा छन् ।

यो अवस्थामा विष्णुमाया कार्काी लगायतका छिमेकीहरु उनको सहयोगका लागि दाल, चामल, नुन, तेल जुटाउन तल्लिन भएका छन् ।

बिष्णुमायले सुमित्रालाई देख्दा अत्यन्तै दयनिय अवस्था भएकाले आफुले आमा, बच्चाको लागि न्यानो कपडा, खाद्यान्न उपलब्ध गराएको बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ–बच्चा जन्मिए पनि आमाको दुध पनि चुसेको छै र स्वास फेराई पनि अत्यन्तै गाह्रो देखिएको छ ।

आमाको उमेर नै पुगेको छैन ।

आफ्नै घरछेउमा देखे माया लाग्छ, सरकारले पनि वास्ता नगरेको सुन्दा दिक्क लाग्छ ।

नियम कानून जे भए पनि पहिला त मान्छे बचाउनुपर्ने हो ? हुनेका लागि मात्र सबैथोक हुँदो रहेछ गरिबका लागि दुःखै दुःख ।

स्वास्थ्य नीतिमा हेर्ने हो भने नवजात शिशुलाई न्यानो बनाएर राख्ने, बच्चा जन्मदा २ किलो ५ सय ग्राम भन्दा कम तौलको छ भने मायाको अंगालोमा राख्नुपर्छ । शिशु जन्मेको २४ घण्टा भित्र दिशा गरिसकेको हुनु पर्दछ ।

४८ देखि ७२ घण्टा भित्र पिसाब फेरेको हुनुपर्छ ।

नगरेमा जन्मजात गूद्वार बन्द भएको पनि हुनसक्छ, अर्थात बच्चालाई कुनै समस्या भएको या खुवाएको दुध कम भएको हुनसक्छ ।

यसका लागि बालरोग विशेषज्ञको परामर्श लिनुपर्छ । शिशु जन्मेको २ देखि ४ दिनमो सामान्य पहेंलो देखिए पनि आमाले चिल्लो, बेसार जस्ता खानेकुरा बार्नुपर्दैन बरु चिकित्सकको सल्लाह लिनुपर्छ भनिएको छ ।

नेपालका लागि सुमित्रा एक प्रतिनिधि पात्र मात्र हुन उनले कसरी लिने चिकित्सकको सेवा ?

नवजात शिशु जन्मने बित्तिकै सरसफाई, नाभीको स्याहार, न्यानो बनाउने, मनतातो पानीले पुछिदिने, दिशा तातोपानीमा भिजाएको नरम कपडाले पुछ्ने, जन्मेको २४ घण्टापछि नुहाएर सफा कपडा लगाउने कुरा सुमित्राका लागि कति सम्भव होला ?

रेशम भन्छन–स्वास्थ्य विज्ञानमा उल्लेख गरिए अनुसार सुत्केरी गराउने कोठालाई २५ डिग्री देखि २८ डिग्री सेन्टीग्रेड तापक्रम कायम हुने गरी न्यानो राख्नुपर्ने कुरालाई नेपालका कति सुमित्राहरुको हकमा लागु होला ? यतिमात्र नभै हस्पिटलबाट डिस्चार्ज भएकोे ७२ घण्टापछि र एक हप्तापछि पुन बच्चालाई डाक्टरलाई देखाउने !

सुमित्रा प्रशव वेथामा छटपटाईरहँदा एउटा पातलो म्याक्सीमा थिईन र उनको शरिर पुरै चिसो हिउँ जस्तै भएको थियो ।

छिमेकी आमा, दिदीहरुले आफ्नै कपडा लगाईदिने, दुध, घिउ, तताएर खान दिने, तेल तताएर लगाईदिने, आसनलाई सहज बनाउने जस्ता सहयोग जुटाएकै कारण उनको जिउ छुट्यिो नत्र के हुन्थ्यो ?

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version