तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला

ललितपुर, भदौ १७ गते ।

पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ ।

श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाँै उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् ।

विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् ।

भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न नपाएको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कृष्णाष्ठमीमा खुल्ला गर्नका लागि केही दिन पहिले मात्रै निर्माण सम्पन्न गरेका थियौँ ।’

कृष्णाष्ठमीका दिनमा वर्षेनी राष्ट्रप्रमुख दर्शनका लागि यहाँ आउने गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो २।३० बजे यहाँ आउनु हुने कार्यक्रम तय भएको छ ।

मन्दिरमा दर्शनका लागि आउने विशिष्ठ पाहुना र दर्शनार्थीको भीडलाई हेरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

बिहान २÷३ बजेबाट नै दशनार्थी मन्दिर आइपुगेका थिए । बिहानीपखबाट भीड बढ्दै गएको चन्दले बताउनुभयो ।

एक पटकमा ८÷१० जनासम्म दर्शनार्थीभित्र जाने गरी व्यवस्था मिलाइएको छ । उहाँले भन्नुभयो, “बिहानसम्म एक÷दुई घण्टामा फर्कन मिल्ने थियो, भीड बढ्दै जाँदा दर्शन गर्न बढी समय लाग्ला ।”

गाबहालदेखि सुन्धारासम्म सवारी साधन चल्न दिइएको छैन ।

नेपाल प्रहरीसँगै नेपाल स्काउट र विभिन्न सङ्घ–संस्थाका स्वयंसेवक दशनार्थीको सहयोगका लागि खटिएका छन् ।

दर्शनार्थीलाई स्वास्थ्य समस्या आउँदा तत्काल उपचारका लागि स्वास्थ्य संस्था यस क्षेत्रमा खटिएका छन् ।

मन्दिर पुनःनिर्माणको क्रममा धेरै निर्माण सामग्री पुरानै प्रयोग भएको दरबार हेरचाह कार्यालयका प्रमुख प्याकुरेलले बताउनुभयो । यहाँ भएका फुटेर वा मक्किएर प्रयोग गर्न नमिल्ने अवस्थामा भएका सामग्रीबाहेक अरुलाई मर्मत गरेर प्रयोगमा ल्याइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ ।

ढुङ्गै–ढुङ्गाले बनेको कृष्ण मन्दिरलाई शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिन्छ । मन्दिरमा २१ गजुर रहेका छन् ।

१७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएका थिए ।

उनले कृष्ण मन्दिर बनाउनेसँगै कृष्ण लीलामा आधारित नाच सञ्चालन गरेका थिए ।

जसलाई कात्तिक नाच पनि भनिन्छ । कृष्ण मन्दिर तीन तला रहेको छ ।

बीचको तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि बिष्णुका १० अवतार मूर्ति छन् ।

मन्दिरका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति कुँदिएको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version