सवारी दुर्घटनामा ६ को मृत्यु, २१ जना घाइते

काठमाडौं , भाद्र १७, २०७५ ।

विभिन्न छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

ललितपुर, धादिङ, मोरङ, गुल्मी र कंचनपुरमा भएका छुट्टाछुट्टैसवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।

दुर्घटनामा ललितपुरमा १ जना, धादिङमा १ जना, मोरङमा २ जना, गुल्मीमा १ जना र कंचनपुरमा १ जनाको मृत्यु भएको हो ।

दुर्घटना मध्ये ललितपुर महानगरपालिका‍–१५ कुसुन्तीस्थित बा. ५६ प २७६२ नम्बरको स्कुटीले पैदलयात्री सोही स्थान बस्ने ३५ वर्षीया संगिता थापालाई शनिबार ठक्कर दिँदा उनकी ५ महिनाकी छोरी पायुजा थापाको उपचारका क्रममा मृत्यू भएको छ ।

यसैगरी धादिङ निलकण्ठ नगरपालिका–८ स्थित सडकमा बा. ६४ प ५६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक शिद्दलेक गाँउपालिका–६ बस्ने ३८ वर्षीय खेम मगरको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको छ।

यस्तै मोरङ रतुवामाई नगरपालिका–८ सडकखण्डमा को–१ च ७७४६ नम्बरको भ्यानको ठक्करबाट घाइते भएका साईकल यात्री सोही स्थान बस्ने ४० वर्षीय अनिल न्यौपानेको बिएनसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।

दुर्घटनामा भ्यानमा सवार घाइते ४ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस्तै मोरङकै पथरीशनिश्चरे नगरपालिका–१ हरीयालीस्थित सडकमा को.३ प ७९०९ नम्बरको मोटरसाइकल र बा.१८ च ३४७ नम्बरको कार शनिबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा पैदलयात्री तेह्रथुम लालीगुराँस नगरपालिका–२ बस्ने ५५ वर्षीय उद्धव मोतेको स्थानिय पथरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ३ जना पैदलयात्री र मोटरसाइकल चालकको पथरी अस्पताल र डाईनेष्टीक अस्पतालमा उपचार भइरहेको छ ।

उता गुल्मी मालीका गाउँपालिका–२ भुमिकाचौर कोईलोखोलामा तम्घासबाट नेटादर्लिङतर्फ जादै गरेको लु.१ ज १९५७ नम्बरको जिप शनिबार सडकबाट अन्दाजी १ सय मिटर तल खस्दाँ घाइते भएकी जिपमा सवार सोही गाउँपालिका बस्ने ७५ वर्षीया मनकुमारी घर्तीको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

उक्त दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारको लागि तम्घासतर्फ लगिएको छ ।

यस्तै कंचनपुर शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित सडकमा से–१ ज ८६२ नम्बरको हाईस र से.२ प ९६६९ नम्बरको मोटरसाइकल शनिबार एकआपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक कंचनपुर भिमदत्त नगरपालिका–१८ बस्ने ३० वर्षीय हरिश प्रसाद भट्टको पद्म अस्पताल अत्तरीया कैलालीबाट थप उपचारार्थ भारतको हल्द्वानीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

Exit mobile version