निर्मला पन्त : प्रहरी र सिआइबि बीच आरोप प्रत्यारोप, मामला सनसनीपूर्ण बन्दै

काठमाडौँ, असोज ८ ।

निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धानको क्रममा प्रहरीहरुले एक आपसमा आदान प्रदान भएको म्यासेजमा गडबडी भेटिएको छ । पछिल्लो समय प्रहरीमाथि नै अनुसन्धान भइरहेका बेला प्रहरीकै म्यासेजमा कैफियत भेटिएपछि अनुसन्धानले नयाँ दिशा पाएको हो । पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा पहिले घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुमाथि नै अनुसन्धान भइरहेको छ ।

कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट खटिएका डिएसपी अंगुर जिसी लगायत दुई दर्जन प्रहरीको दैनिकी अहिले हेडक्वार्टरमा बयान र पोलिग्राफ परीक्षणमा बितिरहेको छ। एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले निर्मला प्रकरणमा संलग्न प्रहरीको बयान लिइरहेको छ।

केही दिनदेखि समितिले लिएको बयानमा प्रहरीले एकअर्कोलाई दोषारोपण गरिरहेको अनुसन्धानसँग सम्वद्ध प्रहरी स्रोतले बताएको छ। सिआइबीबाट गएको टोलीले कञ्चनपुर प्रहरीलाई र कञ्चनपुर प्रहरीले सिआइबी टोलीलाई दोषी देखाउँदै बयान दिएका छन्। एक प्रहरी अधिकृतले भने, ‘बयानमा दुवै पक्ष एक अर्कोलाई दोष थुपारिरहेका छन्।’

सिआइबीको टोलीले कञ्चनपुर प्रहरीले घटनाका अभियुक्त भनिएका दीलिपसिंह विष्टलाई पक्राउ गरेको र आफूहरुले प्रमाण संकलन गरेको र प्रमाण मिलेकाले कारबाही अगाडि बढाएको बताएका छन्। सिआइबी टोलीले घटनामा अभियुक्त विष्टको डिएनए परीक्षण समेत आफ्नै टोलीले गर्न लगाएको बताएको छ।

निर्मला पन्त

उता कञ्चनपुर प्रहरी प्रमुख लगायतले भने सिआइबीले प्रमाण र अनुसन्धान गर्दा अभियुक्त विष्टसँग नै मिलेकाले आफूहरुले कारबाही प्रकृयामा ल्याएको बताएका हुन्। बयानमा दुवै प्रहरीले कुनै पनि नियोजित रुपमा अनुसन्धान नगरेको दावी गरेका छन्।

समितिले घटनामा संलग्न सबै प्रहरीको मोबाइलसमेत चेक गरेको छ। प्रहरीको फोन कलदेखि लिएर म्यासेजसम्मको अनुसन्धान गर्ने क्रममा कञ्चनपुरमा कार्यरत दुई प्रहरीको मोबाइलको म्यासेजमा भने केही कैफियत देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

तर म्यासेजमा कस्तो प्रकृतिको कैफियत हो भने खुल्न सकेको छैन। समितिले कञ्चनपुरका १७ र निलम्बित ६ जना प्रहरी अधिकृतहरुको मोबाइल चेक गरेको थियो। निलम्वित एसपी विष्टले चारवटा सिम कार्ड प्रयोग गर्ने गरेको भेटिएको छ।

एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले घटनाको छानबिन गर्न एक्सपर्ट प्रहरीहरु मगाएको छ। समितिले प्राविधिक, कानुन, अपराध अनुसन्धान र मुद्दामा ज्ञान भएका प्रहरीहरु झिकाएको हो। कानुन डेस्कमा एसपी गणेश रेग्मी, मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापा, प्राविधिक पक्षमा महानगरीय अपराध अनुसन्धानका महाशाखाका सई गजेन्द्र रावत र प्रहरी एकेडेमीका सई सुमन थापालाई समितिमा राखिएको छ। टीमले घटनाको थप अनुसन्धान गर्नेछ।

Exit mobile version