नेपालकै पहिलो प्याराग्लाइडिङ विश्वकप स्याङ्जामा सुरु

स्याङ्जा , कार्तिक १६, २०७५ ।

स्याङ्जामा नेपालको इतिहासमै पहिलोपटक पाराग्लाइडिङ् एक्युरेसी वल्र्डकप २०१८ शुरू भएको छ। पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजना तथा स्याङ्जाका ११ वटै स्थानीय तहको संयोजकत्वमा प्रतियोगिता शुरू भएको हो।

पहिलो नेपाल पाराग्लाइडिङ् एक्युरेसी वल्र्ड कप २०१८ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले उद्घाटन गर्नुभएको थियो।

जिल्लाको भिरकोट नगरपालिका वडा नम्बर ५ स्वरेक महापुर मैदानबाट उडेर र वालिङ नगरपालिका वडा नम्बर ५ डौंवाफाँटमा उत्रने गरी प्रतियोगिता शुरू भयो।

प्रतियोगिता कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्र्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान , इरानलगायत २१ देशका ९८ जनाले प्रतिस्पर्धा गर्ने आयोजक बाबु एड्भेन्चर क्लबका संयोजक सानोबाबु सुनुवारले जानकारी दिनुभयो।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडी रहनेछन्।

प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ। ६ चरणको अंकलाई जोडेर पहिलो, दोस्रो तथा तेस्रोको घोषणा गरिनेछ।

एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुनेछ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमीको हुने आयोजकले जनाएका छन्।

भीरकोट नगरपालिका–५ मैदानमा सुरु भएको एक्युरेसी प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिताको बिहीबार उद्घाटन गर्देै मन्त्री विश्वकर्माले छोटो अवधिमा राम्रो प्रर्दशन गरेको प्याराग्लाईडिङका लागि भौतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विश्वकप प्रतियोगिताको व्यवस्थापन जिल्ला समन्वय समिति स्याङ्जाले गरेको हो ।

Exit mobile version