नक्कली सुन ३५ लाख किलाेमा बिक्री गर्ने तीन जना पक्राउ

काठमाडौं , कार्तिक २०, २०७५ ।

महानगरीय अपराध महाशाखाले राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले सोमबार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गजुरी गाउँपालिका २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोक ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका ३ का राजकुमार तामाङ रहेका रहेका छन्।

उनीहरुले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै बिक्री गरी ठगी गरिरहेको अवस्थामा भक्तपुर चाँगुनारायणबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए ।

प्रहरीका अनुसार उनीहरुको धन्दा भनेको सुन बेच्ने भन्दा पनि सुन देखाएर लुट्ने रहेको छ ।

उनीहरुले एक किलो सुन ३५ लाखसम्म बेच्ने गरेको खुलेको छ। बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँदेखि ५० लाखसम्म पर्न आउँछ।

Exit mobile version