सांसद दुर्गाप्रसाद उपाध्यायको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, फागुन २ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा आज निधन भएको हो ।

सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याउनुभएको बताउनुभएको छ ।

विसं २०२६ मा जन्मनुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आउनुभएको थियो । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

काँग्रेसको बाह्रौँ र तेह्रौँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत हुनुहुन्थ्यो । विसं २०७४ मा उहाँ काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version