देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

काठमाडौँ, पौष २५।

कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोरोनाको नयाँ प्रजाति आमिक्रोनको सङ्क्रमण विस्तार भएको तथा देशव्यापी रुपमा सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएपछि सिसिएमसीका तर्फबाट त्यस्तो सिफारिस भएको हो ।

आजको कोरोना संक्रमणको आंकडा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्रै देशभर एक हजार १७६ जनामा कोरोना सङ्क्रमण भएको छ । सङ्क्रमणको मात्रामा पछिल्ला दिनमा व्यापक वृद्धि भएको छ । कम्तीमा पनि १५ दिन विद्यालयलगायत बढी भिडभाड हुने सार्वजनिक स्थानलाई बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रका सहसचिव एवं प्रवक्ता सुनिता नेपालका अनुसार कोरोनाका बढ्दो जोखिमलाई ख्याल गर्दै तत्कालका लागि आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरिएको छ ।

सिसिएमसीले गरेको सिफारिसलाई कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ । केही विद्यालयले हिउँदे बिदा गरेका छन् । केही विद्यालय तथा कलेजमा परीक्षा जारी छ । परीक्षा जारी रहेका कलेजलाई स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । हिउँदे बिदा गरेका विद्यालयलाई भने आगामी माघ १५ सम्म लैजान भनिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थिति थियो । बैठकले बढी भिडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

राजनीतिक दललाई भिडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सव लगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ । समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको छ । बैठकले जिल्लाको अवस्था हेरे थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।
Exit mobile version