छाडा पशु चौपाया व्यवस्थापनका लागि ट्याग लगाउने कार्य अन्तिम चरणमा

कञ्चनपुर साउन ६।

कञ्चनपुरको भीमदत्त नगरपालिका छाडा पशु चौपायाको व्यवस्थापनमा जुटेको छ।

नगर क्षेत्रको छाडा पशु चौपाया समस्या समाधान गर्न पहिलो चरणमा नगरपालिकाका १९ वटै वडाबाट पशुको लगत संकलन गरेको नगरपालिकाले पशुचौपायामा ट्याग लगाउने कार्य गरिरहेको हो। नगरक्षेत्रमा रहेका साढे ३१ हजार पशुचौपाया मध्ये हाल सम्म २३ हजारमा ट्याग लगाउने काम सम्पन्न गरिएको छ।

ट्याग लगाउने काम सकिएपछि नगर क्षेत्रमा छाडा छोडिएका पशुचौपायालाई गौशलामा व्यवस्थापन गरिनेछ। त्यसपछि पनि पशुचौपाया छोड्नेलाई पशु व्यवस्थापन कार्यविधि बमोजिम कारबाही हुनेछ।

नगरपालिकाले पहिलो चरणमा ११ वडाका झन्डै २३ हजार पशुमा ट्याग लगाउने काम सम्पन्न गरेको छ भने ८ वटा वडामा पनि ट्याग लगाउने काम सुरु गरेको भीमदत्त नगरपालिकाकी उपप्रमुख सुसिला चन्द सिहले बताईन।

नगरपालिकाले पशु धनीको पहिचान हुने गरी प्रत्येक वडामा फरक फरक संकेतका ट्याग लगाईरहेको छ।

वडा कार्यालय मार्फत सञ्चालन भईरहेको उक्त कार्यक्रम अन्तीम चरणमा रहेकोले केही दिनभित्रै सम्पन्न्न हुने नगरपालिकाले जनाएको छ।

नगरबासीले पालेका पशु चौपायामा ट्याग लगाउने काम सकिएपछि बाँकी रहेका पशुहरुलाई गौशलामा व्यवस्थापन गर्ने योजना रहेको भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए।

पशुमा ट्याग लगाउने काम सम्पन्न भएपछि र छाडा पशु चौपायाको गौशालामा व्यवस्थापन गरिसकेपछि पशु चौपाया छोड्नेलाई नगरपालिकाले पास गरेको छाडा पशु चौपाया व्यवस्थापन कार्यविधि अनुसार वडा कार्यालयले दण्ड जरिवाना गर्ने जनाएको छ।

कार्यविधिले पहिलो पटक पशु छोड्नेलाई २ हजार रुपैया जरिवाना र त्यसपछि पनि छोडेमा थप दण्ड जरिवानाको व्यवस्था गरेको छ भने पशु छोड्ने पशु धनीको बारेमा सूचना दिने व्यक्तिलाई त्यसको २५ प्रतिशत पुरस्कार स्वरुप प्रदान गर्ने नियम बनाएको छ।

नगरपालिकाले वडा नम्बर ९ ब्रहदेवमा गौशला निर्माण गरिसकेको छ भने साउन ९ गते जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले गौशलाको विधिवत रुपमा उद्धघाटन गर्ने कार्यक्रम रहेको छ। जगतगुरुले देवाचार्यले गौशलामा शनिबार देखी रुद्री पाठ सुरु गरिसक्नुभएको छ।

Exit mobile version