अवरुद्ध बेनी–जोमसोम सडक खुला

बेनी, म्याग्दी, असार २९ गते ।

पहिराले अवरुद्ध मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पुनः सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दाना, तितरमा मंगलबार राति सडकखण्डको माथिल्लो भागबाट खसेको पहिरो पन्छाइएपछि बिहीबार साँझदेखि सडक पुनःचलेकोशर्मा गजुरमुखीका प्रोजेक्टका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका थिए ।

पहिरो पन्छाइएलगत्तै सीधा यातायात सञ्चालन भइरहेको छ । चीनको तिब्बत जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणको जिम्मा लिएको ठेकेदारलाई पहिरो पन्छाउन प्रयोग गरिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशको बेनी–जोमसोम–कोरला सडक आयोजना गण्डकी प्रदेशकोे जीवनरेखा मानिएको छ ।

सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरोको त्रास छ । सडक अवरुद्ध भएमा तत्कालै खुलाउने गरी काम गर्न आयोजनालाई गाउँपालिकाले समन्वयसमेत गरेको छ ।
पाइप बगाउँदा खानेपानीको हाहाकार

मंगला गाउँपालिका–५ अर्मनमा बाढीले पाइप बगाउँदा दुई बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ ।

सिरकुम–टिकावाङ सडक विस्तारका क्रममा क्रममा निस्किएको माटो सीधै खहरे खोलामा फाल्दा दिही–पुनगैरा खानेपानीको पाइप बगाएपछि करीब ३५ घरधुरीमा खानेपानीको समस्या भएको छ ।

सडक विस्तारका क्रममा मनपरी फालिएको माटाले पाइप बगाएपछि चार दिनदेखि खानेपानी आपूर्ति बन्द भएको स्थानीयवासी ताराबहादुर क्षेत्रीले बताउनुभयो ।

“पटक पटक मर्मत गर्दा पनि बगाएको छ, धारामा पानी नआउँदा खोला र कुवाको पानी खानुपरेको छ”, उहाँले भन्नुभयो । पुनगैरामा १५ र दिही गाउँका २० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् ।

खानेपानीको पाइप बगाएपछि स्थानीयवासीले सफा पानीका लागि नयाँ मुहानको खोजी गर्नुपरेको स्थानीय बलबहादुर विकले बताउनुभयो ।

“सडकले पानीको मुहानमै असर गरेको छ, बर्खाको समयमा धमिलो पानीको प्रयोग गर्न बाध्य छौँ” विकले भन्नुभयो । उहाँका अनुसार पटक पटक मर्मत गरिए पनि माथिल्लो क्षेत्रबाट आएको बाढीले पाइपमा क्षति पुगेको छ ।

हिउँदमा समेत मुहान सुक्दा समस्या भएकाले स्थानीयवासीले दीर्घकालीन योजनाको माग गरेका छन् ।

बाढीले पाइप बगाएपछि गाउँपालिकाले उपलब्ध गराएको २६५ मिटर पाइपसमेत बगाएको छ ।
दुई हजार घरधुरी जोखिममा

कमजोर र भिरालो भूबनोट, छोटो समयमा हुने अधिक वर्षा र डोजरको प्रयोग गरी खनिएका मोटरबाटाका कारणले जिल्लामा दुई हजार १५० घरधुरी बाढीपहिराको जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्लामा प्रतिवर्ष ३७ लाख ४५ हजार ६९० घनमिटर मलिलो माटो बग्ने गरेका कारण शहर तथा ग्रामीण क्षेत्रमा ठूलो परिमाणमा भूक्षय र पहिरो जाने गरेको भूसंरक्षण कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लामा १८ भन्दा बढी ठूलो पहिरो र सयौँ मध्यम तथा साना पहिराले करीब ९०० र बाढीले एक हजार २५० घरधुरी जोखिममा परेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।

पहिराले एक हजार ३४।१ हेक्टर क्षेत्रफल ओगटेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका उपसचिव दिवाकर पौडेलका अनुसार जिल्लाका साविकका ४१ मध्ये ३७ गाविस बाढीपहिराको जोखिममा छन् ।

उहाँका अनुसार बेनी नगरपालिका तथा मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साना तथा ठूला बस्ती बढीपहिराको संवेदनशील क्षेत्रमा समावेश गरिएको छ ।

त्यस्तै कालीगण्डकी र म्याग्दी नदीको कटानले तटीय क्षेत्रका बस्ती जोखिममा छन् । जिल्लामा रहेका ठाडो तथा सहायक खोला राहुघाट खोला, घट्ठेखोला,फूलबारी रितुमखोल,घट्ठे खोलाको कटानले समेत जोखिम बढाएको छ । रासस

राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति
राष्ट्रिय समाचार समिति नेपालको एक मात्र समाचार समिति हो। यसको स्थापना वि. सं. २०१८ मा भएको थियो।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version