आठ हजार सवारी साधन कारबाहीमा

बाबियाचौर, म्याग्दी, साउन ६ गते ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४÷७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ ।

गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो ।

जरिवानाबापत रु ५७ लाख ६६ हजार ५०० राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

सवारीको चाप र संख्यासँगै ट्राफिक प्रहरीको सक्रियता बढेकाले राजस्वसमेत दोब्बरले वृद्धि भएको छ ।

मादक पदार्थको सेवन गरेर सवारीसाधन चलाउने २९६ जनालाई रु दुई लाख ९६ हजार जरिवाना तिराइएको छ ।

सवारीसाधनको स्वरुप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी चालक अनुमतिपत्र र सवारी धनी प्रमाणपत्र बिना सवारी चलाउने चालक तथा सवारी धनीलाई कारबाही गरिएको हो ।

सो अवधिमा भएका १४ वटा दुर्घटनामा ११ जनाको मृत्यु, १९ गम्भीर र १३ जना सामान्य घाइते भएका छन् ।

क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापर्बाही, तीव्र गति, सडकको जीर्ण अवस्था र मादकपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना हुने गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि विद्यार्थी, सर्वसाधारण र सवारी चालक लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
मापसे परीक्षण गर्ने मेसिन थप र सवारीको गति जानकारी पाउने राडर गनको व्यवस्थाका साथै जनशक्ति र पोष्ट थप गर्न पहल गरिएको छ । बेनीका साथै भुरुङ तातोपानी र सिंगा तातोपानीमा समेत ट्राफिकको पोष्ट रहेको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version