हेलिकप्टर दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु, १ जना जीवितै

काठमाडौँ, भदौ २३ गते ।

गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ ।

सो हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने १ जना जीवितै भेटिएकी छन्।

नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ।

रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी घाइते भएकी छिन्।

उनलाई हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ र त्यहा उपचार भइरहेको छ ।

Exit mobile version