युरिया मल नपाउँदा कृषक समस्यामा

झापा, आश्विन १३, २०७५  ।

गौरादहका कृषक धान पोटाउने बेला भइसक्दा पनि युरिया मल नपाउँदा समस्यामा परेका छन् ।

धान रोप्ने समयमा डिएपी मल नपाएर समस्यामा परेका उनीहरु अहिले युरिया मल नपाउँदा थप मारमा परेका हुन् ।

गौरादह नगरपालिका–२ का कृषक मित्रबहादुर बस्नेतले युरिया मल नपाउँदा समस्या भएको गुनासो गर्दै भन्नुभयो, “पहिलेदेखि नै रासायनिक मल प्रयोग गरियो अहिले अरु मल हाले राम्रो फल्दैन, रासायनिक मल नपाएर समस्या भयो ।”

‘‘कृषिप्रधान देश भए पनि किसान जहिल्यै पनि मर्कामा पर्ने गरेका छन्, ’’ उहाँले भन्नुभयो, “यो विषयमा सरकारले ध्यान दिनुपर्छ ।”

गौरादह–७ कै अर्का कृषक वेदप्रसाद चुँडालले बाली लगाउने समयदेखि उठाउने समयसम्म हामी समस्यामा पर्ने गरेका छौँ ।

बाली लगाउने समयमा मल–बिउ नै पाइदैन यस्ता समस्या धेरै छन्, समाधानका लागि कतैबाट पहल हुँदैन भन्नुभयो ।

धानमा रोगको पहिचान र उपचार गर्नसमेत नसकिएको र उचित मूल्यसमेत नपाउँदा आफूहरु ठूलो मर्कामा पर्ने गरेको उहाँको गुनासो थियो ।

नेपाली बजारमा युरिया मल नपाइएपछि कृषकले भारतीय बजारबाट न्यून गुणस्तरको मल ल्याउने गरेका छन् ।

‘‘भारतीय बजारबाट लुकाएर मल ल्याउनुपर्छ’’, अर्का कृषक गणेश राजवंशीले भन्नुभयो, “मल गुणस्तरीय नभएपछि जस्तो भएपनि हाल्नु परेको छ ।”

कृषि सामग्री संस्थान र साल्टट्रेडिङ कम्पनीबाट झापाका दक्षिणी क्षेत्रका डिलरलाई युरिया मल आए पनि त्यो पर्याप्त छैन् ।

थोरै मात्रामा मल आउँँदा कृषकले गाडीबाटै मल उठाएर लाने गरेका छन् ।

Exit mobile version