शनिबार, २३ फागुन २०८२

अफगानिस्तानमा आत्मघाती आक्रमणमा नौ प्रहरी मारिए

अफगानिस्तान, असार १२ । अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ । सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । स्थानीय समयाअनुसार चावकी जिल्लाको बबार ताङगइमा रहेको प्रहरी चौकीमा आतङ्ककारी समूहले आक्रमण गरेको प्रान्तीय सरकारका प्रवक्ता गनी मुसामिमले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यस पहाडी प्रान्तमा तालिबान र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारीको बलियो उपस्थिति रहेको छ । त्यसैले यस आक्रमणमा पनि तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ । आत्मघाती हमलाकारीको पनि निधन भएको छ । ती हमलाकारीको परिचय खुल्न नसकेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । सन् २०१५ को शुरुबाट अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सुरक्षा अधिकारीले लिएपछि सुरक्षा अधिकारीको हताहत बढेको छ । सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा युद्धरत अमेरिकी र नेटो आवद्ध सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै अफगानिस्तानबाट फर्किएका थिए । यहाँ बाँकी रहेका केही अमेरिकी र नेटोआवद्ध सैनिकले भने अफगान सुरक्षा अधिकारीलाई सल्लाह र तालिम दिनेकाम मात्र गर्ने गरेका छन् । अफगानिस्तानमा सरकारसँग युद्ध जारी राखेका तालिबान र अन्य आतङ्ककारी समूहले सरकारी र सुरक्षा अधिकारीलाई लक्ष्य बनाउदै बारम्बार आक्रमण गर्दै आएका छन् । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस