धनगढी । लगातार तीन पटक नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा पराजित भएका खगराज भट्टलाई देउवाले नै प्रदेशको मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा निर्वाचन लड्न प्रस्ताव गरेका थिए ।
वाम- लोकतान्त्रिक गठबन्धनबाट चुनावमा होमिँदा देउवाको उक्त प्रस्तावमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थप ऊर्जा भरेका थिए । देउवा र दाहालले आश्वासन पाएको भट्ट त्यसको चार वर्षपछि मुख्यमन्त्री बनेका छन् ।
कार्यकालको सबैभन्दा पहिल्यै मुख्यमन्त्री बन्ने लक्ष्य लिएका भट्ट त्यो बेला विना विभागीय मन्त्रीमै पद गएको थियो । कार्यकालको सुरुमा मुख्यमन्त्रीको अवसर पाएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसका कमल शाह, त्यसपछि तत्कालीन नेकपा (एकीकृत समाजवादी) र त्यसपछि फेरि कमल शाह मुख्यमन्त्री भए ।
देउवा र दाहालको आश्वासन पाएका भट्टले देउवा र दाहालकै गठबन्धन हुँदा पनि मुख्यमन्त्री बन्न पाएनन् । अहिले नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाको नयाँ गठबन्धन भएपछि भट्ट मुख्यमन्त्री बनेका हुन् । ११ बजे मुख्यमन्त्री नियुक्त भएका उनको शपथ दिउँसो ३ बजे हुनेछ ।
को हुन् खगराज भट्ट ?
२०३१ पुस २ गते मङ्गलवार अजयमेरु गाउँपालिका–४, चौडी कपल्ली गाउँमा रामदत्त भट्ट र गोमतीदेवी भट्टका ६ सन्तानमध्ये साइँलो छोराका रूपमा जन्मिएका भट्ट सरल व्यक्तिका रूपमा परिचित छन् ।
खगराज भट्ट आफ्ना जेठा दाजु जयराज भट्टको प्रशिक्षण र सिकाइबाट माओवादीतर्फ आकर्षित भएका थिए । तर विडम्बना, जुन दाजुको आशीर्वाद थापेर माओवादी आन्दोलनमा होमिन आज खगराज मुख्यमन्त्री बन्दा आशीर्वाद दिन ती दाजु छैनन् ।
२०५९ जेठ २३ गते बझाङ र बाजुरा जिल्लाको पार्टी इन्चार्ज हुँदा बझाङमा तत्कालीन नेपाली सेनाबाट दाजुको हत्या भएको त्यो क्षण खगराजले अझै भुल्न सकेका छैनन् ।
भट्टका अर्का दाजु महेश्वरदत्त भट्ट शिक्षक छन् । दिदी भागीरथीदेवी ओझा, बैनी प्रमीलादेवी चटौत, कान्छो भाइ उमेशप्रसाद भट्ट अहिले खगराजको प्रगति र सफलतामा उत्साहित भएका छन् ।
‘ठूलो दाजुको सपना मेरो अर्को दाजुले पूरा गरिरहनुभएको छ’, अजयमेरु गाउँपालिकामा लगातार दुई पटक अध्यक्ष निर्वाचित भएका खगराज भट्टका कान्छा भाइ उमेश भन्छन्, ‘आम नेता- कार्यकर्ताहरूका लागि उहाँ मुख्यमन्त्री बन्नु भनेको पार्टीले गरेको सम्मान र उहाँको योगदानको उचित मूल्याङ्कन भएको ठहर्छ। ’
तत्कालीन अवस्थामा बैतडीको गुरुखोला गाविस, कलौन गाउँबाट डडेल्धुरा आएका थिए भट्टका पुर्खाहरू । सानै छँदा ७ कक्षासम्म मणिलेक निमाविमा पढेका भट्टले ८ देखि १० सम्म अजयमेरु गाविसमा रहेको सहस्रलिङ्ग माविमा पढे ।
२०४८ सालमा एसएलसी पास गरेपछि सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्ययन सुरु भयो । तत्कालीन नेकपा एकता केन्द्रको २०४७ साल असार २८ गते दाजुको प्रेरणा र पहलबाट पार्टीको साधारण सदस्य भए ।
२०५० असोज १३ गतेबाट पूर्णकालीन कार्यकर्ताका रूपमा रहेका उनी २०५२ फागुन २४ गते नेकपा माओवादीको डडेल्धुरा जिल्ला कमिटी सदस्य भइरहँदा थुनामा रहे। उनलाई राज्यविरुद्धको अपराध लगायो । ‘जनयुद्धको थालनीबाटै भूमिगत भएँ । विद्यार्थी सङ्गठनमा रहेको हुँदा केही खुला राजनीतिमा पनि थिएँ। २०५३ पुस ८ सम्म जेलमा बसेपछि भूमिगत क्रियाकलापमै बढी सक्रिय रहेँ,’ उनले भने ।
जिल्ला, उपक्षेत्रीय, क्षेत्रीय ब्युरो हुँदै २०५८ साल असारमा तत्कालीन नेकपा माओवादीको दार्चुला–बैतडी–डडेल्धुरा संयुक्त जिल्ला समितिको जिल्ला सचिव भए । २०५९ सालमा तत्कालीन दार्चुला–बैतडी जिल्ला इन्चार्ज, २०६० सालमा पार्टी केन्द्रीय सदस्य बने ।
तत्कालीन सेती–महाकाली राज्य समितिको सचिव, सुदूरपश्चिमकै सह इन्चार्ज हुँदै इन्चार्ज भएका उनी अहिले प्रदेशको सह इन्चार्जको जिम्मेवारीमा छन् ।
भट्टको परिवारमा उनी मात्रै होइन, सबैजसो माओवादीको आन्दोलनमा जोडिएका छन् । भट्टका जेठो दाजु र भाउजू, उनी र उनकी श्रीमती पनि पूर्णकालीन माओवादीमा छन् ।
२०६० सालमा युद्धकै क्रममा अछाम जिल्लाको भाटाकाटियामा विवाह भएको हो । सांस्कृतिक फाँटतर्फको नेतृत्व गरिरहेकी मञ्जु बम रेडियो सेती महाकाली जनगणतन्त्र रेडियोमा समाचारवाचिकादेखि निर्देशकसम्मको जिम्मेवारीमा थिइन् । २०६३ सालमा अन्तरिम व्यवस्थापिकामा रहेकी उनी अहिले पनि केन्द्रीय कमिटीमा छिन् ।
सधैँ देउवाको प्रतिस्पर्धी
खगराज भट्टको संसदीय राजनीतिक यात्रामा नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँगको चुनावी प्रतिस्पर्धा विशेष रूपमा चर्चित रह्यो । २०६४, २०७० र २०७४ का निर्वाचनमा उनी डडेल्धुराबाट देउवासँग पराजित भएका थिए ।
शेरबहादुर देउवाविरुद्ध लडेका कुनै पनि उम्मेदवारले १० हजार त कटाउन सकेका थिएनन् । शेरबहादुर देउवाविरुद्ध २० हजार मत कटाएका थिए ।
२०७४ मा वाम गठबन्धन हुँदासमेत उनी देउवासँग पराजित भएका थिए । तर २०७९ सालको निर्वाचनमा भने उनले चुनावी प्रतिस्पर्धा बदले । २०७९ को प्रदेशसभा निर्वाचनमा भट्ट डडेल्धुरा प्रदेशसभा नम्बर १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बने ।
उनले १२ हजार ११२ मत प्राप्त गर्दै नेकपा एमालेका पठानसिंह बोहरालाई पराजित गरे। त्यसपछि उनी सुदूरपश्चिम प्रदेशसभामा प्रवेश गरे।
प्रदेशको प्राथमिकताको कुरा
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि प्रदेशमा सुशासनको जग बसाल्ने उनी बताउँछन् । ‘प्रदेशको औचित्य छैन भन्ने कुरालाई गलत साबित गर्नुपर्ने हुन्छ। सङ्घीयता किन ल्याइयो भन्नेबारे जनतालाई पनि बुझाउन सकेनौँ । न त बलियो बनाउन सक्यौँ, के काम गरेका छौँ भन्नेबारे पनि बुझाउन सकेनौँ’, उनी भन्छन् ।
प्रदेश सरकारले गरेको कामबारे पनि जनतालाई जानकारी दिन नसकेको उनी बताउँछन् । ‘धनगढीका अर्बौँ रुपैयाँ खर्च भएको छ । त्यही बाटोमा हिँड्नेहरू प्रदेशले केही गरेन भन्छन् । हजारौँ विद्यालयका भवन बनायो । त्यही विद्यालयको छतमुनि बसेर सङ्घीयताको काम छैन भन्छ । हजारौँ सिँचाइ कुलो बनाइएका छन्। त्यही कुलोबाट सिँचाइ गरेका किसानहरूले प्रदेशको काम छैन भन्छन्’, उनी भन्छन्, ‘अब हामीले यति धेरै गरेका छौँ भन्ने कुरा पनि आम नागरिकहरूलाई जानकारी दिनु पर्छ ।’
प्रदेशमा रहेका केही बेथितिहरूलाई सुधार गर्दै सुशासन कायम गर्ने आफ्नो पहिलो लक्ष्य रहेको उनी बताउँछन्, ‘सुशासन संस्थागत गर्नेछौँ। वैज्ञानिक विकासमा आधारित रूपान्तरणकारी विकास, दिगो विकास लक्ष्यलाई नवरूपमा आधार विकासलाई अगाडि बढाउँछौँ, ’ उनी भन्छन् ।
प्रदेश राजधानी कार्यान्वयन गर्ने पनि आफ्नो लक्ष्य रहेको उनले सुनाए । ‘हामीले हाम्रो प्रदेशको राजधानीलाई कार्यान्वयन गर्ने चुनौती रहेको छ। पहिलो कार्यकालदेखि कार्यान्वयन गर्न नसक्ने अवस्थालाई सुधार गर्छौँ उनले भने, ‘स्रोतसाधनको अधिकतम प्रयोग गर्दै विकास र समृद्धिलाई अघि बढाउँछौँ’, उनी भन्छन् ।
प्रतिक्रिया दिनुहोस