काठमाडौँ, २० फाल्गुण ।
विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।
सो निर्णयबमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुका सङ्घ, महासङ्घहरुलाई शिक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु विद्यालयले आयोजना नगर्न नगराउन पनि सूचित गर्ने निर्णय गरिएको छ ।