बैतडी–
विपद् जोखिम नक्साङ्कन गर्दा दशरथचन्द नगरपालिका–५ मा बाँदर आतंक पहिलो नम्बरमा परेको छ । वडाको विपद् नक्साङ्कन गर्दा बाढीपहिरो, आगलागी, नदी कटानलगायतका विपदमध्ये बाँदर आतंक पहिलो नम्बरमा परेको हो ।
पाँच वर्ष यता बाँदरकै कारण बालीनाली लगाउन पाएका छैनन् भने लगाएको अन्नबाली बाँदरले नष्ट गरेको स्थानीय बताउँछन् । वडाभित्रका विपद् र त्यसको असर कम गर्न के गर्न सकिन्छ भनेर कार्ययोजना बनाउँदा बाँदरको समस्या पहिलो नम्बरमा परेको हो । कार्ययोजना निर्धारण बैठकमा वडाध्यक्ष, वडासदस्य सहित स्थानीय सहभागी थिए । आफ्नो गाउँ क्षेत्रमा आउन सक्ने प्रकोप व्यवस्थापन गर्नुका साथै विपद् जोखिमबाट जोगिने उपायबारे स्थानीयस्तरमा योजना निर्माण गर्न वडा स्तरमा जोखिम तथा क्षमता विश्लेषण गरिएको छ ।
भारतले बाँदरलाई ट्रकमा ल्याएर महाकाली नदीमा छाडेपछि सदरमुकाम आसपासमा बाँदर आतंक बढेको स्थानीय बताउँछन् । सीमा नदी किनारमा बाँदर छाडे पछि पारिका बाँदर बारि आएको स्थानीयको भनाइ छ ।
युनिसेफको सहयोगमा रेडक्रस बैतडी शाखाले बालबालिका केन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रमले दशरथचन्द नगरपालिकासँग मिलेर विपद् नक्साङ्कन गरेको हो । नगरपालिकाको आयोजनामा जोखिम नक्साङ्कन गर्न थालेको कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए ।
दशरथचन्द नगरपालिका ४, ५, ६ र ८ मा बाँदरले बढी आतंक मच्चाएको स्थानीले बताएका छन् । ‘खेतमा लगाएको कुनै बाली भित्र्याउन पाइँदैन,’ स्थानीय नरेन्द्रबहादुर चन्दले भने, ‘खेतमा लगाएको सागसब्जी सबै बाँदरकै पोल्टामा जान्छ।’ अलिअलि फल्ने अन्नसमेत बाँदरले खाएपछि जहान परिवार पाल्न समस्या भएको स्थानीय राजेन्द्र भट्टले बताए । प्रकोपका अन्य समस्या कम भए पनि बाँदर आतंकले भने स्थानीय त्रसित छन् ।
भारतले बाँदरलाई ट्रकमा ल्याएर महाकाली नदीमा छाडे पछि सदरमुकाम आसपासमा बाँदर आतंक बढेको स्थानीय बताउँछन् । सीमा नदी किनारमा बाँदर छाडे पछि पारिका बाँदर बारि आएको स्थानीयको भनाइ छ । बाँदरको व्यवस्थापन गर्न नसक्दा सदरमुकाम आसपासमा समस्या बढ्दै गएको छ । गत हप्ता स्थानीय मिलेर बाँदर लखेट्ने प्रयास गरेपनि झन् गाउँ पस्न थालेको स्थानीय बताउँछन् ।
बाँदरका फौजले बालीनाली नष्ट गर्न थाले पछि कतिपयले बालीसमेत लगाउन छोडेका छन् । सुन्तला, जुनारलगायतका फलफूल बढी फल्ने सदरमुकाममा बाँदरले सखाप पार्न थाले पछि बाँदर लखेट्ने प्रयास सफल हुन नसकेको स्थानीयको भनाइ छ । पछिल्लो समय बालबालिका एक्लै विद्यालय जान पनि डराउन थालेका छन् । बाँदरको आतंकबाट बालबालिका र महिला बढी पीडित छन् । बाँदरलाई लखेट्न सजिलो भने छैन । ठूल्ठूला रुखका टुप्पोमा गएर बस्न थालेपछि समस्या भइरहेको दशरथचन्द नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए ।
दशरथचन्द नगरपालिकाका ११ वटै वडामा विपद् नक्साङ्कन गर्दै क्षमता विश्लेषण गरिएको बताइएको छ । विपद् जोखिम न्यूनीकरण र संकटापन्नता तथा क्षमता विश्लेषण गरी विपद् जोखिमको लेखाजोखा औजारबारे वडामा छलफल गर्नुका साथै विपद् तथा जलवायु, उत्थानशील योजना निर्माणका लागि सूचना संकलन गर्दा बाँदरको समस्या बढी देखिएको छ । प्रकोप रोक्न नसकिए पनि उसले निम्त्याउने विपद्को सामना गर्न सहज गर्न विपद् व्यवस्थापन योजना बनाउन तयारी गरिएको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले बताए । विपद्पूर्व तयारी तथा प्रतिकार्य योजनामा काम गरिरहेका सम्पूर्ण पक्ष एक भएर संयुक्तरूपमा अगाडि बढे क्षति न्यूनीकरण गर्न सकिने प्रमुख थापाले जानकारी दिए । केही वडामा देखिएको जंगली जनावरको आतंक भने नगरपालिकाले समाधान गर्न नसकेको उनको भनाइ छ ।
बाँदरले खेतमा लगाएको अन्नदेखि भान्छामा पकाएको खानासमेत खान थाले पछि स्थानीयवासीले नगरपालिकासँग बाँदर व्यवस्थापनको माग गरेका छन् । नगरपालिकाका बाँदर प्रभावित वडाका लागि कार्यक्रम ल्याउनुपर्ने स्थानीयले माग गरेको छन् । ‘खेतबारी बाँझो छोड्न बाध्य छौ, स्थानीय नरेन्द्रबहादुर चन्दले भने , ‘धेरै प्रयास गरेपनि बाली जोगाउन खेतमा गरेको मिहिनेत बाँदरको आहार भएपछि खेत बाँझो छोड्न बाध्य छौं।’
नगरपालिकामा बाढी, नदी कटान, पहिरो, अन्नबालीमा जंगली जनावरको आतंक, ढुसी प्रकोप, सुक्खायाममा आगलागी, खडेरी, श्वासप्रश्वास र आँखाका रोग आदि पनि विपद् छन् । त्यसैगरी वर्खायाममा चट्याङ, हुरीबतास, झाडापखाला, हैजालगायतका विपद्हरू मुख्यरूपमा छन् । यी सबै किसिमका विपद्हरू अचेतन अर्थात् पूर्वसतर्कता नअपनाएको अवस्थामा ठूलो क्षति लिएर आउने गर्छ । यसर्थ विपद् आउनुभन्दा पहिले नै विपद् सम्बन्धमा समाजलाई सचेत गराउन खोजिएको रेडक्रस बैतडी शाखाका सभापति भीमदत्त पाण्डेयले बताए ।