41.4 C
Mahendranagar
Monday, April 29, 2024
spot_img

छाँयामा दार्चुला–तिंकर सडक

दार्चुला, भाद्र १७, २०७५ ।

त्रिदेशीय सीमा जोड्ने दार्चुला–तिंकर सडकको निर्माण कार्य छाँयामा परेको छ ।

महाकाली लोकमार्गको समानान्तर दूरीमा महाकाली करिडोरको निर्माण थालिएपछि दार्चुला–तिंकर सडक निर्माण छाँयामा परेको हो ।

कञ्चनपुरको बह्मदेवबाट दार्चुला खलंगासम्म महाकाली करिडोरको लम्बाइ २ सय ९१ किलोमिटर छ ।

दार्चुला जोड्ने महाकाली लोकमार्ग अत्तरियाबाट दार्चुला सदरमुकाम सम्म ३ सय ८ किलोमिटर छ  ।

करिब तीन दशकअघि सुरु हुने भनिएको महाकाली करिडोरको दुई वर्षअघिबाट मात्रै निर्माण कार्य सुरु भएको थियो । दुई वर्षअघि उक्त करिडोरमै तिंकर सडक गाभिएपछि निर्माण कार्य सुस्त भएको हो ।

करिडोरले तिंकर सडक छाँयामा पार्यो, दुहु गाउँपालिका १ का जयबहादुर कुवरले भने, करिडोर र तिंकर सडक अलग–अलग निर्माण हुनुपथ्र्यो ।

भारतले एकातिर महाकाली किनारै किनार सडक लिपुलेकसम्म पुर्याउन थालेको छ ।

तर नेपाल तिरको तिंकर सडक १० वर्षदेखि जस्ताको त्यस्तै छ ।

तिंकर सडकलाई महाकाली करिडोरमा गाभेपछि निर्माण कार्य झनै सुस्त भएको सो क्षेत्रका वासिन्दाको बुझाई छ ।

सुरुको योजना अनुसार दार्चुला–तिंकर सडक सम्पन्न हुनुपर्ने अवधि यहि वर्ष सकिदैछ ।

सडक योजना आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

महाकाली करिडोर नामकरण भएसँगै निर्माण सम्पन्न गर्ने समयावधि थपेर असार २०७९ बनाइएको छ । यही गतिमा निर्माण अगाडि बढ्ने हो भने तिंंकर सडक सम्पन्न हुन अझै ३० वर्ष लाग्छ ।

सदरमुकाम खलंगाबाट जिरो प्वाइन्ट मानेर निर्माण सुरु गरिएको उक्त सडकमा अहिलेसम्म ४० किलोमिटर सडकको ट्रयाक खोलिएको भए पनि २० किलोमिटरमा मात्र गाडी गुड्छ  ।

अढाई वर्षअघि नै ६५ किलोमिटर सडकको ट्रयाक खोल्नका लागि ठेक्का सम्झौता भएपनि अगाडिका निर्माण कम्पनीहरूले आफ्नो काम समयमै गर्न नसक्दा पछिल्ला ठेक्काहरूमा काम हुन सकेको छैन् ।

तीन वर्षसम्म विष्फोटक पदार्थ छैन भनेर काम गरिएन, अहिले विष्फोटक पदार्थ आएपनि गति दिइएन, उनले भने । अनि कसरी तिंकर सम्म गाडी पुग्छ ।

जिरो प्वाइन्टबाट करिब ४ किलोमिटरको दूरीमा रहेको राताकाठा भीरसम्म ७ वर्षमा ट्रयाक खुलेको छ ।

दुहु गाउँपालिका २ हिकिलाका जमिनसिंह बडालले भने, समयमै काम भए अहिले सम्म तिंकर सम्म सडक बनिसक्थ्यो ।

महाकाली करिडोरले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा सडक निर्माण गर्दैछ । गत वर्षबाट डडेल्धुरा, बैतडी र दार्चुलाका विभिन्न ठाउँमा ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । तर सोहि गतिमा तिंकर सडकको काम अघि बढ्न नसक्दा स्थानीयमा निराशा छाएको छ ।

४ सय २० किलोमिटर लम्बाइको महाकाली करिडोर ब्रहमदेव–झुलाघाट–दार्चुला–तिंकर सडकमा ८८ किलोमिटर र ६५ किलोमिटर तिंकर सडकमा ट्रयाक खोल्नका लागि ठेक्का सम्झौता भएको छ ।

अहिलेको गतिले सडक निर्माण नहुने भएपछि पछिल्लो समय जिल्लाबाट निर्वाचित जनप्रतिनिधि तिंकर सडकको जिम्मा नेपाली सेनालाई दिनुपर्ने आवाज उठाउन थालेका छन् ।

त्रिदेशीय नाका तिब्बत सँग जोड्न छोटो मार्ग तथा व्यापारिक तथा धार्मिक पर्यटकीय दृष्टिकोणले तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिदा उपयुक्त हुनेमा जिल्लाबासीको माग छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles