कैलाली कञ्चनपुरका स्थानीय तहहरुको टाउको दुखाईको विषय बनेको छाडा पशु चौपायाको समस्या समाधान गर्न अव धार्मिक संघ सस्थाहरुले जाग्नुपर्नेमा जोड दिईएको छ।
धार्मिक संघ सस्थाका सञ्चालक समितीहरुले नै अव छाडा पशु चौपाको समस्या समाधानमा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएका हुन्।
राष्ट्रिय मठमन्दिर समन्वय महासमिति कैलालीका कोषाध्यक्ष तथा राधाकृष्ण मन्दिरका संस्थापक नवराज ओझाले अव छाडा पशु चौपाया व्यवस्थापनमा धार्मिक सस्थाहरु पनि सक्रिय हुनुपर्ने बताए।
मठ मन्दिर र धार्मिक संघसंस्थाले गौ संरक्षणका लागि अभियान सुरु गर्न सकेमा छाडा पशु चौपायाको समस्या विस्तारै हट्दै जाने अपेक्षा गरिएको छ।
राष्ट्रिय मठमन्दिर समन्वय महासमितिका अनुसार कैलालीमा मात्रै दर्ता भएका २ सय १९ सहित ५ सय ५३ वटा मठमन्दिर रहेका छन्।
प्रत्येक मन्दिरले १० वटा पशुको संरक्षण गर्न सके साढे ५ हजार बढि पशुको व्यवस्थापन हुने देखिएको छ।
त्यसैले अभियान थाल्नमा ढिलाई गर्ननहुने भनाई राष्ट्रिय मठमन्दिर समन्वय महासमिति कैलालीका कोषाध्यक्ष तथा राधाकृष्ण मन्दिरका संस्थापक ओझाको छ।
हिन्दु धर्म शास्त्रमा गाईको ठुलो धार्मिक महत्व रहेपनि अहिले कैलाली कञ्चनपुरमा दुध दिने बेला सम्म पाल्ने र त्यसपछि छोडिदिने प्रवृत्तिले छाडा पशु चौपायाको समस्या विकराल बन्दै गएको छ।
हिन्दु धर्मावलम्वीलाई जन्मेदेखि मृत्युप्रान्त आवश्यक पर्ने गाईको महत्व बुझ्न नसकेकै कारण यो समस्या बल्झीदै गएको धार्मिक सस्थाहरुको ठहर छ।
तर अब भने पशु चौपायाको व्यवस्थापन अभियानको सुरुवात धार्मिक संघसंस्था स्वंयमले थाल्नुपर्ने र त्यसमा सबैले सहयोगी भूमिका निभाउनुपर्ने आवश्यकता रहेकाले धार्मिक संघसंस्था र आम नागरिकले लाग्नुपर्ने लक्ष्मी नारायण मन्दिर धनगढीका स्वामी जगन्नाथ आर्चायले बताए।
मठमन्दिर र धार्मिक संघसंस्थाले पशु चौपाया संरक्षणको अभियान सुरु गर्न सके धार्मिक तथा पैतृक कार्यका लागि आवश्यक पर्ने गाईको मलमुत्र, दुध, दही, घिउ सहजै प्राप्त गर्न सकिने र दुध दही र घिउ बिक्रिबाट प्राप्त हुने आम्दानीले पशुको आहाराको जोहो गर्न सकिन्छ।
बाँकेको कोहलपुरमा एकजना योग गुरुले २५/३० गाईको संरक्षण गरी व्यवसायीकता दिएका छन्। ती गुरुले गाईको दुध, दही घिउ बिक्रि गर्दै गाईको गहुत जम्मा गरी आधुनिक प्रविधिको प्रयोग मार्फत बोतलमा जम्मा गर्दै बिक्रि समेत गर्दै आएका छन्।
के सोही तरिका कैलाली, कञ्चनपुरमा पनि लागु गर्न सकिन्न र ?