महेन्द्रनगर, वैशाख १६ गते ।
भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको ‘झिलमिला ताल’ पर्यटकको आकर्षण बन्दै गएको छ। गर्मी समयमा बिदा मनाउन आन्तरिक पर्यटकहरु यस क्षेत्रमा पुगेर प्रकृतिको आनन्द लिने गरेका छन् ।
जिल्ला सदरमुकाम भीमदत्तनगरबाट २५ किलोमिटर उत्तरी क्षेत्रमा पर्ने झिलमिला ताल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ ।
समुद्र सतहदेखि करिब ६८० मिटर उचाइमा रहेको तालको चारैतिरका डाँडा हरियो वनले ढाकिएका छन् । यस तालले दिनमा तीन पटक रंग फेर्ने बताइन्छ। यहाँ एकै जात र एकै आकारका कालो रंगका माछा विचरण गरिहेको दृश्य हेर्नुको मज्जानै बेग्लै छ ।
तालको चारैतिर जंगल, रुख बिरुवाले ढकमक्क ढाकेको भए पनि तालको पानी कञ्चन रहने गरेको छ। तालमा पातपतिङ्गर कतै पनि देख्न पाइँदैन । ताल क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसारका लागि नगरपालिकाले विशेष प्राथमिकतामा राखेको छ ।
पर्यटकलाई सहज रुपमा तालसम्म पुग्न सडक निर्माण भइरहेको छ । यस वर्ष मटेनाबाट चार किलोमिटर सडक कालोपत्रे बनाउने काम अघि बढेको छ । अर्को वर्ष ताराकोटसम्म त्यसलाई बिस्तार गरिने नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
ताराकोटबाट तालसम्मको झण्डै एक किलोमिटर बाटोमा पदमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ। सुदूरपश्चिम प्रदेश उद्योग, वन, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले तालको परिक्रमा पथ र सोलार बत्ती जडानसहितका कार्यका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताए ।
‘यो ताल प्राकृतिक, धार्मिक र ऐतिहासिक हिसाबले निकै महत्वपूर्ण छ,’ उनले भने, ‘तालमा छिमेकी मुलुक भारतबाट दर्शनार्थी आउने गरेका छन्।’ नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरेको छ ।
यो घोषणा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित झिलमिला ताल, भम्केनी धाम, विष्णु मन्दिर साकेतधाम, रौटेला, बाराकुण्डा, झोलुङ्गे पुल लगायतका धार्मिक पर्यटकीय स्थललाई मध्यनजर गरी गरिएको हो । तालको संरक्षणका लागि यस वर्ष राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसित सहकार्य गरी तालको पश्चिमी किनारमा चेकडयाम (तटबन्ध) बनाउन लागिएको छ ।
यसका लागि १५ लाख रुपैयाँ बजेट खर्च हुने भएको छ। एक हजार १२५ मिटर लम्बाइको परिक्रमा पथमध्ये यस वर्ष २०० मिटर थप निर्माण गरिएको छ ।
घना जङ्गलको विचमा रहेको यो १७ मिटर गहिराको यो तालको लम्बाइ ५०० मिटर र चौडाइ ३५० मिटर छ। २०७२ सालमा तालको लम्बाइ, चौडाइ र गहिराइ मापन गरिएको थियो ।