32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

बिरुडामा वर्णन गरिने सिलङ्गो सङ्कटमा

बैतडी, भदौ २२।

‘सिलङ्गो फुले जस्तै फुल्नू

दुबो जस्तै फैलिनू,

हिमालमा हिउँ छउन्जेलसम्म जिउनू’

गौरा पर्वमा बिरुडाको प्रसाद (पञ्च अन्न) बाँड्ने बेला आशिष वचनमा उच्चारण गरिने लोपोन्मुख वनस्पति सिलङ्गो संरक्षण नहुँदा सङ्कटमा परेको छ । दशकअघि जिल्लाका अधिकांश ठाउँमा पाइने सिलङ्गो पछिल्लो समय जलवायु परिवर्तन र जथाभाबी सडक निर्माणले सङ्कटमा परेको छ ।

सिलङ्गो नेपालमा मात्रै पाइने सधैँ हरियो पात रहिरहने लोपोन्मुख वनस्पति हो । बाह्रै महिना हरियो पातको छाया र सुवास दिने सिलङ्गो सुदूरपश्चिमतिर आशीर्वादसँग जोडिएको महत्वपूर्ण बिरुवा हो । यो बिरुवा काट्नु हुँदैन भन्ने धार्मिक मान्यता छ । चैतदेखि जेठसम्म फुल्ने सिलङ्गोको मन्त्रमुग्ध पार्ने बास्ना कोसौँ टाढासम्म पुगेर सुवास फैलाउँछ ।

नेपाल सरकारले संरक्षित वन घोषणा गरेको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेक वन र सिगास गाउँपालिकाको सिगास संरक्षित वनमा सिलङ्गो पाइन्छ । पछिल्लो समय स्थानीय तहको सरकारले संरक्षित वनमा डोजरले सडक खन्दा सिलङ्गो सङ्कटमा परेको डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत दिलीपकुमार यादवले बताउनुभयो । उहाँले पर्यावरणीय अध्ययन नगरी सडक खन्दा अन्य वनसँगै सिलङ्गो पनि सङ्कटमा परेको बताउनुभयो । वन कार्यालयले स्थानीय सरकारलाई वन विनाश हुने गरेर सडक निर्माण नगर्न पत्राचार गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

धर्तीबाटै लोप हुन लागेको अति सङ्कटापन्न प्रजातिमध्येमा सिलङ्गो केही धार्मिक अगुवाले गौरा पर्व मनाउने स्थानमा रोपेर संरक्षण गरेका छन् । सिलङ्गो लोप हुँदै जान थालेपछि बैतडीको पाटन नगरपालिका–१०, धुराका नारायणदत्त भट्टले वासुलिङ्गको गौरा मनाउने ठाउँ खलो (मैदान) मा सिलङ्गो रोपेको बताउनुभयो ।

सिलङ्गो धार्मिक बिरुवा भएकाले यसको बोट रोप्ने व्यक्तिले मोक्ष प्राप्त गर्ने र सन्ततिलाई सुख हुने विश्वासका कारण उक्त बिरुवा रोपेको उहाँले बताउनुभयो । नेपाल सरकारले सिलङ्गोलाई सङ्कटापन्न वनस्पति घोषणा गरेका कारण यो बिरुवा पाइने ग्वाल्लेक वन र सिगास वनलाई संरक्षित वन घोषणा गरेको सिगास वन सबडिभिजन कार्यालय बैतडीका वन अधिकृत हेम सहनीले बताउनुभयो ।

ग्वाल्लेक र सिगास संरक्षित वन क्षेत्रमा सिलङ्गो, लौठसल्ला, सतुवा, पाँचऔँलेलगायत जडीबुटी पाइन्छ । यो क्षेत्र चितुवा, कालो भालु, रातो फ्याउरो, घोरल, झारललगायतका जनावरको वासस्थान पनि मानिन्छ ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको पवित्र ग्वाल्लेक वन र समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाइमा रहेको सिगास धुरामा सिलङ्गो, प्राकृतिक लौठसल्ला र हिमालयन सेतो चन्दनसहित बहुमूल्य जडीबुटी रहेको तथ्याङ्क छ । जिल्ला वन कार्यालय बैतडीले यी दुवै वनलाई संरक्षित वन घोषणा गर्न परिषद् गठन गरेर कार्ययोजनासमेत अघि बढाएको छ । यद्यपि स्थानीय सरकारले संरक्षित वनमा सडक निर्माण गर्ने काम भने रोकिन सकेको छैन । – गोरखापत्र अनलाइन

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading