घरसंगै व्यवहारमा परिवर्तन ल्याउने बाचा, ८० लाख अपुग
रौतहट — बाढीको वितण्डापछि लामो समयदेखि चन्द्रपुर–८ सन्तपुरस्थित बागमती नहरको डिलमा बस्दै आएका बाढी पीडितहरु नयाँ पक्की घरमा सर्ने तयारीमा जुटेका छन । बाढीको कारण घरवार विहीन भई नहरको डिलमा छाप्रोमा बस्दै आएका ४७ परिवार एकै साथ नयाँ पक्की घरमा सर्न लागेका हुन् ।
पुरानो घर रहेको १२ कठ्ठा जग्गामा धुर्मस–सुन्तली फाउण्डेशनले थालेको ‘एकिकृत नमुना बस्ती सन्तपुर’ को नामले शौचालयसहितको घर निर्माण कार्य अन्तिम चरणमा पुगे पछि उनीहरु नयाँ घर सर्ने तयारी लागेका हुन् ।
फाउण्डेशनले आफ्नो चौथों परियोजना अन्तर्गत ५ करोड ९५ लाखको अनुमानित लागतमा ४७ वटा दुई तल्ले पक्की घर, शौचालय, एउटा सामुदायिक भवन, मुसहर र पासवानको कुल देवताको २ वटा छुट्टाछुट्टै मन्दिर, एउटा विद्यालय भवन, एउटा क्लव घर, एउटा बाल उद्यान र एउटा फलामको अग्लो भ्यू टावर समेत निर्माण गरेको बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीले बताए ।
गत असोज ४ गते धुर्मस–सुन्तली र बस्तीकी जेष्ठ नागरिक एक सय सात (१०७) वर्षीया रामकली देवी हजराले संयुक्त रुपमा शिलान्यास गरेको उक्त बस्ती निर्माण कार्य असोज २८ गते देखि सुरु भएको थियो ।
१ सय १० दिनमा भवन निर्माण तथा रंगरोगन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष माझीले बताए । ‘भवन निर्माण गर्न स्थानीयले श्रमदान गरे,’ उनले भने, ‘बाँकीको सबै खर्च फाउण्डेशनले जुटाईदिएको हो ।’ बस्तीको नक्सा समेत फाउण्डेशनले नै तयारी गरेको उनले जानकारी दिए ।
भवन निर्माण कार्यमा दैनिक २ सय ६१ जना मजदुर अहोरात्र खटेर छोटो समयमा बस्तीलाई मुर्त रुप दिएको उनले बताए । उनका अनुसार एउटा घरमा एक परिवार बस्छन् । प्रति परिवारमा ५ देखि ९ जना सदस्य छन । बृद्धबृद्धा र ९२ जना बालबालिकासहित २ सय ८४ जना विपन्न गरीबले नमुना बस्तीको घरमा बसोवास गर्ने छन् ।
बस्तीको शिलान्यास गरेकी १०७ वर्षीया रामकली देवी माझीले पहिलो पटक पक्की घरमा बस्ने तयारी गरेको बताईन । ‘बालापनदेखि बृद्धावस्थासम्मको जीवन झुपडीमै गुजारियो,’ उनले भनिन्, ‘मर्ने बेलामा पक्की घरमा सर्दै छु ।’ आफ्नो जीवनको सबभन्दा खुशीको क्षण यही भएको पनि उनले सुनाईन् ।
‘आफनै पक्की घरमा बस्न पाईएला, सपनामा पनि सोचेकी थिईन,’ खुशीले गद्गद् भएकी रामकलीले थपिन्, ‘पक्की घरमा जन्मन, हुर्कन नपाएपनि मर्ने चाही निश्चित भएको छ ।’ आफ्नो लागि पक्की घर बनाई दिने धुर्मस–सुन्तली फाउण्डेशनलाई उनले धन्यवाद समेत दिईन् ।
कान कम सुन्ने रामकलीले यो उमेरमा आई पुग्दासम्म ज्वरो आएको अनुभव गरेकी छैनन् । विगतका विभिन्न कालखण्ड पार गरिसकेकी रामकलीका एक जना सन्तान छोरा थिए । छोरा मरेको लामो समय बित्तिसकेको छ ।
तीन भाई पोता (नाती) र तीनका श्रीमतीले आफ्नो हेरचाह गर्दै आएको उनले बताईन् । यही जीवनमा पोता मात्र होईन । पोताका छोराछोरी, नाती नातिना हेर्न भ्याएको उनले सुनाईन् ।
‘यती उमेरसम्म धेरै मान्छे बाँच्दैनन,’ उनले भनिन्, ‘म भाग्यशाली छु, सबै हेर्न भ्याएँ ।’ धुर्मुस–सुन्तलीको नाम लिन पछि परिनन् । पोताको उमेरका धुर्मसले गरेको कामको उनले सराहना समेत गरिन ।
नयाँ घरमा सर्ने तयारी गरेका ५९ वर्षीय जोगिन्द्र माझीको परिवार पनि कम्ता खुशी छैनन् । २ छोरा बुहारी र नाती नातिनासहितको उनको परिवारको बाँकी जिन्दगी पक्की घरमा बिताउने योजनामा छन् ।
‘हातमुख जोर्न धौं धौं पर्ने हाम्रो परिवारले पक्की घरको कल्पना समेत गरेको थिएन,’ उनले भने, ‘पक्की घरको योजना लिएर धुर्मुस हाम्रो लागि भगवानको रुपमा आईदिए ।’ फलस्वरुप पक्की घर पाईएको उनले बताए ।
घरसंगै संस्कारमा पनि परिवर्तन
यहाँका दलित बस्तीका ४७ विपन्न परिवारले घर मात्र पाएका छैनन् । संस्कारमा समेत परिवर्तन पाएको बताएका छन् । बाहिरको मानिस हेरेर लजाउने, नबोल्ने, टाढा बस्ने बानी समेत हटेको बस्तीकी सुगान्धी पासवानले बताईन् ।
‘सबैमा परिवर्तन आएको छ,’ उनले भनिन्, ‘विद्यालय नजाने बालबालिका पनि विद्यालय जान थालेका छन् ।’ हाम्रो टोलमा बस्तीसंगै संस्कारमा पनि आमुल परिवर्तन आएको उनले बताईन् ।
विद्यालय जाने उमेरका ५२ जना बालबालिका अहिले दैनिक विद्यालय जान थालेको सोही बस्तीकी अर्का विपन्न तेतरी देवी साहले बताईन् । ‘गरीबीका कारण बालविवाह गर्ने चलन थियो,’ उनले भनिन्, ‘बस्ती विकाससंगै पाएको सचेतनाले त्यो चलन हटेको छ ।’ बस्तीका सबैले अब बालविवाह नगर्ने प्रतिवद्धता समेत गरेका छन् ।
नमुना बस्तीमा मात्र बसालिएको होईन ।
८० लाख अपुग
‘एकिकृत नमुना बस्ती सन्तपुर’ निर्माणको क्रममा भएको खर्च जुटाउन धौधौ परेको धुर्मस–सुन्तली फाउण्डेशनका सञ्चालक सिताराम कट्टेलले बताए ।
बस्ती निर्माणको लागि भएको खर्च अनुसार ८० लाख रुपैयाँ अझै अभाव रहेको उनले बताए । ‘घर हस्तान्तरण गर्न अब पाँच दिन मात्र बाँकी छ,’ उनले भने, ‘लागेको खर्चको जोहो गर्न सकिएको छैन ।’
यो समयभित्र जसरी भएपनि सहयोग जुटाउनु पर्ने बाध्यता फाउण्डेशन सामु आईपरेको उनले बताए । ‘नपुग रकम कहाँबाट कसरी जुटाउने अहिले हाम्रो लागि प्रमुख चिन्ताको विषय बनेको छ’ उनले सुनाए । समयमै सहयोग रकम जुटाएर फाउण्डेशनलाई सहयोग गर्न उनले सहयोगी दातासंग आग्रह गरे ।
उनका अनुसार अहिलेसम्म भएको खर्च देश विदेशमा रहेका नेपाली दाजुभाई, दिदी बहिनीले गरेको सहयोगबाट धानिएको हो । ‘अब ८० लाख रुपैयाँ मात्र कही कतैबाट सहयोग आईदिए । हामी आर्थिक चिन्ताबाट मुक्त हुने थियौं । दशै औला जोडेर दातासंग सहयोगको याचना गर्न चाहन्छु’ उनले भनौं, ‘विश्वास छ अपुग रकम समेत बस्ती हस्तान्तरण अगावै दाताबाट आई पुग्ने आशामा छौं । फाटफुट रुपमा सहयोग आउने क्रम जारी छ ।’