कंचनपुर २५ फागुन
सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकभरका पुरन सुनारले दुई वर्षअघि आफ्नो घरको आँगनमा आँपको बिरुवा रोपे । उक्त बिरुवा दशगजामा रोपेको भन्दे भारतीय सुरक्षाकर्मी घरमै पुगेर पुरनलाई धम्काउन थाले ।
दिनहुँको धम्की र त्रासपछि स्थानीयले छलफल गरी बिरुवा हटाउने सहमति भयो । तर पुरनलाई भने सीमा क्षेत्रमा आउजाउ गर्न समस्या हुन थाल्यो । उनले २/३ महिना सीमावर्ती बजार जानै बन्द गरे ।
गत वर्ष सोही ठाउँमा एक युवतीमाथि हातपात गर्ने भारतीय नागरिकलाई स्थानीयले निण्न्त्रणमा लिएर प्रहरीलाई बुझाए । त्यतिबेला पनि भारतीय गुण्डाहरूको समूह आएर कुतियाकभरवासीलाई कुटपिट गर्यो । २/३ जना घाइते पनि भए । खाद्यान्नदेखि औषधि उपचार सबैका लागि सीमावर्ती बजारमा निर्भर यहाँका बासिन्दालाई एसएसबीले समेत आउजाउमा कडाइ गरे । उक्त घटना पनि दुवै पक्ष बसेर मिलाए ।
दोधारा चाँदनी (महाकाली नगरपालिका) क्षेत्रको समेत टापुका रूपमा रहेको कुतियाकभरमा यस्ता घटना भई नै रहन्छन् । हतियारसहित भारतीय सुरक्षाकर्मी बस्तीमै पस्ने गरेको स्थानीय बताउँछन् । ‘सीमामा सधैं त्रास नै छ,’ पुरनले भने, ‘हामीलाई अनेक बहानामा धम्काउने काम भइरहन्छ ।’ भारतीय सुरक्षाकर्मी दशगजाभन्दा ५ सय मिटरभित्र रहेको जोगबुढा नदीसम्मै हतियारसहित पुग्ने गरेको पुरनको गुनासो छ ।
यहाँका स्थानीयले अस्थायी प्रहरीचौकी माग गर्दै आएका छन् । तर, उक्त माग अझै पूरा हुन सकेको छैन । यहाँ मदिरा सेवन गर्न आउने भारतीयले महिलामाथि दुव्र्यवहार गर्ने भएकाले त्यसका लागिसमेत सुरक्षा आवश्यक रहेको स्थानीय बताउँछन् ।
‘सीमामा सामान्य घटना भए हामीलाई रातदिन त्रास हुन्छ,’ खडक बुढाले कान्तिपुरसित भने, ‘दिनहुँजसो एसएसबी आएर अनेक बहानामा दु:ख दिन्छन् ।’ उनले भारतीय पक्षले जतिसुकैदु:ख दिए पनि विरोध गर्न सक्ने अवस्था नरहेको बताए । विरोध गरेमा सीमामा आउजाउ गर्नै समस्या हुने गर्छ । ‘नुनतेलदेखि खाद्यान्न र औषधि सबै उतैको भर पर्नुपर्छ,’ बुढा भन्छन्, ‘पारि (भारत) जान नपाए हाम्रो बिजोग हुन्छ ।’
कुतियाकभर छेउमै भारत उत्तरप्रदेशको पिलिभित जिल्लाको नौजलिया गाउँ पर्छ । यहाँ बंगालीहरूको बस्ती छ । उनीहरूले समेत बस्तीमा आएर धम्काउने गरेको स्थानीय बताउँछन् ।
जोगबुढापारि रहेको नेपाली बस्ती बडुवाल टोल, कञ्जभोज, सुन्दरनगर र कुतियाकभरमा भारतीय सुरक्षाकर्मी हतियारसहित आफ्ना सवारीसाधनमा आउने गरेको स्थानीय बताउँछन् । आफ्नै भूभागमा गस्तीमा जानसमेत नेपाली भूभाग प्रयोग गर्ने गरेका छन् । यस विषयमा स्थानीय प्रहरीदेखि प्रशासन सबैलाई जानकारी गराए पनि रोक्न कुनै पहल नभएको उनीहरूको गुनासो छ ।
आधारभूत सेवा नै छैन
३३ घरपरिवारको बसोबास रहेको कुतियाकभरका बासिन्दा स्वास्थ्य सेवालगायत आधारभूत सुविधाबाट समेत वञ्चित छन् । यहाँका बालबालिका अहिले पनि वर्षायाममा ३ महिना स्कुल जान पाउँदैनन् । गाउँमा विद्युत् सेवा विस्तारका लागि १ वर्षअघि नै पोल गाडिए पनि लाइन भने जडान भएको छैन ।
‘टाउको वा पेट दुखेमा पनि पारि नै जानुपर्छ,’ नदी तटीय क्षेत्रका महिलाको समस्याका विषयमा निड्स नेपाल नामक गैरसरकारी संस्थाले यसै साता जनप्रतिनिधिसहित आयोजना गरेको अन्तक्र्रियामा स्थानीय रीतु सिजापतिले भनिन्, ‘यहाँका महिलाले कहिल्यै नियमित गर्भ जाँच गर्न पाउँदैनन्, सुत्केरी पनि घरमै हुन्छन् ।’ उनले कुतियाकभरमा बाटोघाटो नहुँदा सुत्केरी व्यथा लागेका महिलालाई भारतसमेत लैजान नसकिने बताइन् । स्थानीयले घुम्तीकै रूपमा भए पनि स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका छन् ।
भोट मागेपछि फर्केनन्
जिल्ला र गाउँस्तरका नेताहरू कुतियाकभरमा विरलै पुग्ने गर्छन् । तर यस वर्षको सुरुवातदेखि नै मत माग्दै सबै दलका नेताहरू यहाँ पुगे । तीनै तहको निर्वाचन सकिएपछि फेरि यहाँको अवस्था विगत जस्तै बनेको छ ।
‘भोट माग्ने बेला गरेको वाचा सबै बिर्सिए,’ महाकाली नगरपालिका उपप्रमुख चिनी गिरीलाई सुनाउँदै स्थानीय महिला मायादेवी सुनारले भनिन्, ‘न त भनेको काम गरे, न त आफू आए ।’ दलित समुदायको बसोबास रहेको यस क्षेत्रमा चुनावका बेला उम्मेदवारहरूले विभिन्न आश्वासन बाँडे । तर विद्युत् लाइन विस्तारका लागि डेढ वर्षअघि जडान भएका पोल अहिले पनि त्यस्तै छन् ।
महाकाली नगरपालिकामै पनि ठाउँठाउँमा बाटोघाटो खुलिरहेको छ तर यहाँ पैदल हिँड्ने बाटोसमेत बनेको छैन । यसैगरी सीमा क्षेत्रमा जडान गर्न आएका सोलार बत्तीसमेत नगरपालिकामै थन्किएको स्थानीयले बताए । महाकाली नगरपालिकाकी उपप्रमुख गिरीले कुतियाकभरमा स्वास्थ्य सेवा उपलब्ध गराउनेदेखि यहाँका महिलालाई विभिन्न किसिमका सीपमूलक तालिममा सहभागी गराउने प्रतिबद्धता जनाइन् ।
उनले विकास निर्माणका कामका लागि हरेक वडालाई दामासाही तरिकाले बजेट बाँडफाँट गरिएको र यसपटक वडाले कुतियाकभरमा बाटो नखोले आगामी वर्षको बजेटबाट जसरी भए पनि काम गर्ने प्रतिबद्धता जनाइन् ।