काठमाडौँ, २६ चैत-
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी सिधै स्थानीय तहमा समायोजन गर्न लागेको जानकारी दिएको छ ।
स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ८५ (३) १ मा स्थानीय तहमा कार्यरत कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिने व्यवस्था भएको तथा जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा खटाउन सकिने व्यवस्था रहेको छ ।
यसरी कर्मचारी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका र नगरपालिकामा प्राथमिकता दिइने पनि विज्ञप्तिमा भनिएको छ ।
कर्मचारी व्यवस्थापन ऐनको दफा १४ (१) अनुसार समन्वय समितिको सम्पूर्ण स्थायी कर्मचारी स्वतः स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ ।
यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दूरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितिले बुझाउनु पर्नेछ ।