हेटौंडा,, भाद्र १६, २०७५ ।
एक दिन पाहुनालाई स्वागत गर्न हेटौंडा बसपार्क पुग्नुभएका उहाँले नजिकै ठेलामा बेच्न राखिएको मम माग्दै गरेका बालकहरु देख्नुभयो ।
ग्राहकले मम खाइसकेपछि फ्याँकेका पात भुईंमा खस्न नपाउँदै केही बालकले टिपेर चाटेको उहाँले देख्नुभयो ।
हेटौंडा बसपार्कमा यस्तो दृष्य देखेपछि भावुक बन्नुभएका हेटौंडेली युवा अर्पण पराजुलीले आफ्नो अनुसन्धानको विषय तिनै सडक बालकलाई बनाउनुभयो ।
प्रारम्भमा उहाँसँग बोल्न नमान्ने र पिटुँलाझैं गर्ने सडक बालकहरु हिजोआज उहाँलाई ‘मामा’ भनी सम्बोधन गर्छन्, सँगै खान्छन् र सँगै सुत्छन् ।
अनुसन्धानसँगै उनीहरुलाई सुरक्षित आश्रय दिने प्रयास पनि थालियो । प्रारम्भमा हेटौंडा नगरपालिकाले उनीहरुलाई खाने÷लाउने खर्च व्यहोरेको थियो ।
हाल भने ती सबै पूर्वसडक बालकलाई दीर्घकालिन पुनस्र्थापना गर्ने लक्ष्यले हेटौंडामा ‘मामाघर’ निर्माण जारी छ ।
सडक बालबालिकाको अनुसन्धानका क्रममा करिब दुई महिना उनीहरुसँगै बिताएर उनीहरुलाई पुनस्र्थापनाको लागि राजी पार्नुभएका अनुसन्धानकर्ता पराजुलीको सम्मानमा उक्त केन्द्रको नामसमेत ‘मामाघर’ राखिएको छ ।४५ दिनसम्म सडक बालकहरुको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिबिधि अध्ययनका लागि बोरा ओडेर एक साता रातभर बसपार्कमा बिताउनुभएका पराजुलीलाई हेटौंडाका सडक बालकहरु ‘मामा’ भनी सम्बोधन गर्छन् ।
अनुसन्धानको क्रममै उनीहरुलाई नुहाइदिन राप्ति खोलामा लैजाँदा १४ जनाको शरीरबाट एकसय ९६ वटा जुम्रा भेटिएको पराजुलीले स्मरण गर्नुभयो ।
हेटौंडा नगरपालिकाको सहयोगमा उहाँले बसपार्कवरपर भेटिएका सडक बालकहरुको अध्ययन÷अनुसन्धान प्रतिवेदन तयार पार्नुभएको थियो ।
अनुसन्धानमा समेटिएका बालक १० देखि १७ वर्ष उमेरका थिए । तीमध्ये आठ जना मकवानपुरका थिए ।
भेटिएकामध्ये अधिकांश पारिवारिक कलह, सहरको रमझम र साथीको लहैलहैमा लागेर सडकमा आइपुगेका हुन् ।
अनुसन्धानका क्रममा हेटौंडामा २३ जना सडक बालक भेटिएको जानकारी पराजुलीले दिनुभयो ।
उनीहरु घुमन्ते भएकाले यकिन तथ्यांक नआउने पराजुलीले बताउनुभयो । हेटौंडामा भेटिने सडक बालकहरु ‘बिच्छु’, ‘कोब्रा’ र ‘भ्यान्टे’ गरी तीन ग्याङमा विभाजित थिए ।
अभिभावकबाट टाढा भएका उनीहरु आफ्नो समूहका नाइकेको निर्देशनमा चल्थे ।
सबैले मागेको र चोरेको कुरा सामूहिक उपभोग गर्थे । भोक लाग्दा डेन्ड्राइड सुँघ्ने बानी भएका उनीहरुले हाल डेन्ड्राइड भुलेका छन्, चुरोट खाएका छैनन्, न त चोरी नै गरेका छन् ।
वाक्कैपिच्छे निस्कने अपशब्द उनीहरुको मुखबाट निस्कँदैन ।सडक बालकको समूह ‘बिच्छु’ ग्याङका नाइके सुनसरीका प्रशान्त ढकालले ‘मामा’ भनी सम्बोधन गरेपछि पराजुलीसँग जोडिएको मामाको साइनो अरुतिर पनि सरेको थियो ।
हेटौंडा क्षेत्रमा पराजुलीलाई चिन्नेहरु जुनसुकै उमेर, तह र तप्काका भएपनि ‘मामा’ भनी सम्बोधन गर्छन् ।
उनीहरुलाई सुरक्षित आश्रयका लागि निर्माणाधीन मामाघर नेपालले वैशाखबाट ती ‘भाञ्जा’ हरुलाई नयाँ सुविधासम्पन्न २१ कोठे भवनमा राख्ने गरी काम तीव्र पमा अघि बढाएको छ ।
मामाघर नेपालका संरक्षक पराजुलीका अनुसार हाल मामाघर नेपालको संरक्षणमा रहेका २३ ‘भाञ्जा’ लाई वैशाखबाट सुविधासम्पन्न वालमैत्री भवनमा स्थानान्तरण गरिने छ ।
मामाघर नेपालको ‘एक व्यक्ति–एक ईंटा’ अभियानअन्तर्गत् हेटौंडा–११ मा समाजसेवी सिद्धिलाल श्रेष्ठले उपलब्ध गराएको ३ कठ्ठा २ धुर जग्गामा भवन निर्माण भइरहेको छ ।
चैतभित्र भवन निर्माण सम्पन्न गरी वैशाखभित्र ‘भाञ्जा’ हरुलाई नयाँ घरमा राख्ने गरी काम अघि बढाइएको संरक्षक पराजुलीले बताउनुभयो ।
उहाँका अनुसार भवन निर्माणका लागि सहयोगहरु प्राप्त भइरहेको छ । नगरपालिकाले पनि यस कामका निम्ति सहयोग उपलब्ध गराएको छ भने प्रदेश–३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पनि यसमा सहयोग गर्ने वाचा दिएको छ ।
संरक्षक पराजुलीका अनुसार मामाघर नेपालको सञ्चालन र व्यवस्थापनमा स्थायी दाता कोही छैनन् ।
मकवानपुर तथा आसपासका व्यक्तिले जन्मदिन, विवाहका दिन गरेको सहयोगले मामाघरका ‘भाञ्जा’ हरुको जीवनयापन भइरहेको छ ।
बालबालिकालाई उचित अवसर दिनसके उनीहरुमा रहेको विशिष्ट क्षमता प्रष्फुटन हुनसक्ने पराजुलीको अनुभव छ ।
मामाघरमा आश्रयमा रहेका ३ जना ‘भाञ्जा’ हरु १८ वर्षमुनिकाको राष्ट्रिय हक्की प्रतियोगिताका लागि छनौट भएका थिए ।